काठमाडौं- शिविरमा रहेका लडाकुबाट मासिक रूपमा उठाइएको रकमको हिसाब–किताबका विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र लडाकु कमान्डरहरूबीच तनाव भएको छ । विगत पाँच वर्षमा लडाकुबाट उठाइएको रकममध्ये करिब ६७ करोड रुपियाँको हिसाब नआएको भन्दै अध्यक्ष दाहालले कमान्डरहरूसित आक्रोश पोखेका छन् ।अध्यक्ष दाहालले लडाकुबाट उठाइएको सबै रकमको हिसाब–किताब हेडक्वार्टर (आफू)लाई बुझाउन कमान्डरहरूलाई निर्देशन दिएको स्रोतले बतायो । कमान्डरहरूले भने अहिले आएर अध्यक्षले हिसाब मागेको भन्दै असन्तुष्टि जनाएका थिए । शिविरबाट बाहिरिएका संस्थापन पक्षधर लडाकुहरूलाई संगठित गर्ने काम पनि त्यही विवादका कारण ढिलो भएको स्रोतको दाबी छ ।
माओवादीले शिविरमा रहेका लडाकुबाट मासिक हजार रुपियाँका दरले रकम उठाउँदै आएको थियो । सम्बन्धित शिविरका कमान्डरले नै रकम उठाउने गरेका थिए । पाँच वर्षको अवधिमा माओवादीले लडाकुबाट कम्तीमा २ अर्ब ३८ करोड ८१ लाख २० हजार रुपियाँ उठाएको छ ।
करिब एक साताअघि कमान्डरहरूसितको भेटमा अध्यक्ष दाहालले लडाकुबाट उठाइएको रकममध्ये ६७ करोड रुपियाँको हिसाब अझै पनि हेडक्वार्टरमा नआएको बताएका थिए । लडाकुबाट उठाइएको रकम वाइसिएललाई दिने निर्णय पार्टीले गरेकाले सो रकम तत्काल हेडक्वार्टरमा बुझाउन उनले कमान्डरहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ । ‘करिब ६७ करोड रुपियाँ अझै पनि हेडक्वार्टरमा आएको छैन, त्यो रकम वाइसिएलका साथीहरूलाई दिने निर्णय गरेका छौँ, त्यसैले चाँडो बुझाऔँ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
तर, लडाकु कमान्डरहरूले भने अध्यक्ष दाहालले भनेअनुसारको रकम खातामा नरहेको जिकिर गरेका छन् । ‘खातामा पैसा नै छैन त कहाँबाट बुझाउने रु’ भन्दै कमान्डरहरूले रकम दिन अस्वीकार गरेको स्रोतले जनाएको छ । पैसाको विषयमा अध्यक्ष दाहाल र कमाडरहरूबीच अविश्वासको वातावरण बनेको स्रोत बताउँछ । स्रोतका अनुसार तुलनात्मक रूपमा धेरै लडाकु रहेको चितवनस्थित तेस्रो डिभिजन, नवलपरासीस्थित चौथो र सुर्खेतस्थित छैटौँ डिभिजनबाट उठाइएको रकमको पूरा हिसाब–किताब अझै हेडक्वार्टरमा आइसकेको छैन । छलफलमा अध्यक्ष दाहालले ती तीनवटै शिविरका कमान्डरहरूको मुखमा हेर्दै ‘हिसाब आएन नि’ भन्दै जिज्ञासा राखेका थिए । लडाकुबाट उठाइएको रकममा तेस्रो, चौथो र छैटाँै डिभिजनमा धेरै हिनामिना भएको समाचार सौर्य दैनिकले यसअघि नै प्रकाशन गरेको थियो ।
रकम हिनामिना गरेको आरोप लागेका चौथो डिभिजनका कमान्डर तेजबहादुर ओली र छैटौँका कमान्डर महेन्द्रबहादुर शाहीले दोस्रो चरणको वर्गीकरणबाट स्वैच्छिक अवकाश लिइसकेका छन् । स्रोतका अनुसार लडाकुबाट मासिक रकम उठाउनुअघि अध्यक्ष दाहालले कमान्डर नन्दकिशोर पुन, डेपुटी कमान्डर चन्द्रप्रकाश खनाललगायतसित उठेको रकममध्ये केही अंश कमान्डरहरूले निजी प्रयोजनमा खर्च गर्न सक्ने मौखिक सहमति गरेका थिए । तर, अनुमान गरेभन्दा धेरै रकमको हिसाब नआएपछि दाहालले सोधखोज सुरु गरेका हुन् ।
उता, कमान्डरहरूले भने अध्यक्ष दाहालले एकरएक रुपियाँको हिसाब मागेपछि चित्त दुखाएका छन् । ‘शिविर बनाउँदा, घाइतेहरूको उपचार गर्दा, चार हजारभन्दा बढी अयोग्य भनिएका लडाकुलाई चार वर्षसम्म पाल्दा लेबीबापत उठेको रकम खर्च भएको छ । अहिले रकम चाहियो भनेर मागेपछि हामीले कहाँबाट दिने ? हिसाब चाहियो भन्दा चित्त दुख्छ,’ एक कमान्डरले सौर्यसँग भने । स्रोतका अनुसार शिविरबाट भागेका लडाकुको मासिक तलब–भत्ताबापतको रकम लडाकु कमान्डरहरूले संकलन गरेको जानकारी पाएपछि त्यतिबेलै शीर्ष नेताहरूबीच त्यो रकम हेडक्वार्टरमा बुझाएर पछि दामासाहीले बाँड्ने सहमति भएको थियो । तर, लडाकु कमान्डरहरूले एकतिहाइ रकम मात्र माथि बुझाउने र बाँकी आफैँले चलाउने गरेको तथा हिसाब चुस्त–दुरुस्त नराखेको पाइएपछि अध्यक्ष दाहाल र कमान्डरहरूको दूरी बढ्न थालेको हो ।
पूर्वलडाकुहरूलाई कमान्डमा ल्याएर रकमबारे सोधीखोजी गर्न सजिलो हुने भएकाले पनि ‘पूर्वजनमुक्ति सेना संघ’ गठन गरिएको एक माओवादी पोलिटब्युरो सदस्यले बताए । ‘कमान्डरहरूलाई चेन अफ कमान्डमा ल्याएपछि हिनामिनाबारे लाग्दै आएको आरोप के हो बुझ्न सजिलो हुन्छ,’ अध्यक्ष दाहालनिकट ती पोलिटब्युरो सदस्यले भने । माओवादी पोलिटब्युरो सदस्य अग्नि सापकोटाले लडाकु र अध्यक्षबीच भएको छलफलबारे आफूलाई थाहा नभएको बताए । ‘मलाई त्यसबारे केही जानकारी छैन, बुझेर भनौँला,’ उनले सौर्यसँग भने ।







