ललितपुर- समलिंगी भन्न हिच्किचाउनेहरुलाई सार्वजनिक हुन अनुरोध गर्छिन् कमला सुब्बा। साथीभाइबीच माइला नामले चिनिने कमलाले यसका लागि नग्न मोडलिङको सहारा लिएकी छिन्। एक विदेशी र एक नेपालीसहित कमलाले चित्रकार कपिलमणि दीक्षितका लागि ‘न्युड पोज’ दिएका छन्, जसलाई कपिलले चित्रमा उतारेका छन्।
कोर नेपाल संस्थाको पहलमा भएको यो अभियान अन्तर्गत् कोरिएका चित्रहरुको प्रदर्शनी पहिलोपटक गत शुक्रबार ललितपुरमा भएको थियो। ‘एक्सप्रेसन अफ रिप्रेसन’ शीर्षकमा सार्वजनिक गरिएका चित्रमा विदेशी मोडलले मात्र अनुहार देखाएकी छिन्। तीनजनै मोडल समलिंगी हुन्।
‘आफूलाई शरीरको मुद्राबाट अभिव्यक्त गर्न चाहनेलाई मैले आफ्नो क्यानभासमा ठाउँ दिएको हुँ,’ चित्रकार दीक्षितले भने, ‘यौनिक अल्पसंख्यकको पक्षमा चित्र बनाउन पाउनु त झन् सन्तुष्टिको कुरा हो।’ उनले यसअघि पनि अमेरिका र नेपालमा यस्ता नग्नचित्र सिर्जिसकेका छन्।
‘महिला समलिंगी पनि आमा बन्न सक्छे, करियरमा जम्न सक्छे र समाजमा अरुजस्तै सामान्य जीवन बाँच्नसक्छे,’ कोर नेपालकी सलिना तामाङले भनिन्, ‘आफूलाई नलुकाऊ, समाजलाई सामना गर भन्ने सन्देश दिन यो चित्र प्रदर्शनी गरिएको हो।’
प्रहरी सेवा र जागिरबाट यौनिक अल्पसंख्यकहरुलाई जागिरबाट निकाला गर्नु मानवअधिकारको घोर अपहेलना मान्छिन् सलिना। ‘अमेरिकामा राष्ट्रपति बाराक ओबामाले समलिंगीहरुले पनि सेनामा भर्ती हुन पाउँछन् भनेर घोषणा गरिसकेका छन् भने नेपालमा चाहिँ जागिर गुमाउनु पर्ने अवस्था छ,’ सलिनाले तुलना गरिन्।
पहिले गाडी र टेम्पो चलाउने कमला हिजोआज समलिंगी समुदायकै गतिविधिमा काम गर्छिन्। पाए भने ड्राइभिङ पेशामा फर्किने योजना रहेकी कमला भन्छिन्, ‘हाम्रो आकांक्षालाई यी चित्रले मूर्त रूपमा उतारिदिएको छ।’







