समाचार सुन्नुहोस :
काठमाडौँ – फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान सम्पन्न क्वाटरफाइनल खेलपछि अन्तिम चार टोलीको टुंगो लागेको हो।
इंग्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। खेलमा एक गोलले पछि परेको इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। यस्तै, साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। यसअघि फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनल यात्रा तय गरेको थियो भने स्पेनले बेल्जियमलाई २–१ ले हराएर सन् २०१० यता पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।
अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन तथा दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ। सेमिफाइनलमा पुगेका चारै टोली यसअघि विश्वकप जितिसकेका राष्ट्र हुन्। साथै, फिफा वरीयताको शीर्ष चार स्थानमा रहेका यी टोलीमध्ये विजेता बन्ने एक टोलीले साउन ४ गते अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनल खेल्नेछ।







