समाचार सुन्नुहोस :
काठमाडौँ – चर्चित हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा रहेको ट्युमरको सफल शल्यक्रिया गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।
वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा चिकित्सक टोलीले शल्यक्रिया सम्पन्न गरेको हो। अस्पतालका अनुसार शल्यक्रिया सफल भएको छ र हाल उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको छ। शल्यक्रियाका क्रममा निकालिएको ट्युमर क्यान्सरयुक्त हो वा होइन भन्ने यकिन गर्न बायोप्सी परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। यसको प्रतिवेदन आउन भने बाँकी रहेको चिकित्सकहरूले बताएका छन्।
दीपाश्री निरौला नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्री, हास्य कलाकार र निर्देशकका रूपमा परिचित छन्। उनले अभिनयसँगै निर्देशन गरेका धेरै चलचित्रले उल्लेखनीय सफलता हासिल गरेका छन्।







