समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालको आईटी कम्पनी इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले ‘असोसियो डिजिटल गभरमेन्ट अवार्ड २०२४’ प्राप्त गरेको छ। यो सम्मान एसियन-आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो)ले जापानको टोकियोमा आयोजना गरेको डिजिटल समिटमा प्रदान गरेको हो।
असोसियो एसिया क्षेत्रका २४ देशका सूचना प्रविधि संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो। जसले हरेक वर्ष आईटी क्षेत्रमा विशेष योगदान पुर्याउने संस्था, कम्पनी र व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ। यस वर्षको समिटमा एसिया-प्यासिफिक क्षेत्रका डिजिटल उद्योगका प्रमुख, नवप्रवर्तक र विशेषज्ञहरूको उपस्थिति थियो।
अवार्ड ग्रहण गर्दै इन्फोडेभलपर्सका संस्थापक उमेश रघुवंशीले आफ्नो टोलीको कडा परिश्रमलाई यस सफलतासँग जोड्दै गर्व महसुस गरेको बताए। उनले भने, “यो सम्मान नेपालका प्रविधि कम्पनीहरूको बढ्दो अन्तर्राष्ट्रिय प्रभावको संकेत हो। हामी नेपाल सरकारको डिजिटल परिवर्तन यात्रामा अझ प्रभावकारी परियोजनाहरूमा सहकार्य गर्न उत्साहित छौं।”
सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्सले फिनटेक र आईसीटी समाधानमा विशेषज्ञता हासिल गरेको छ। बैंकिङ प्रणाली, मोबाइल बैंकिङ र एआई-आधारित स्वचालन जस्ता अत्याधुनिक प्रविधि समाधान ल्याउँदै आएको यस कम्पनीले हाल २०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ।








