टोकियो – दक्षिणपश्चिम जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा शपिङ सेन्टरभित्र कैयौँ मानिसहरू फसेको अधिकारीहरूले बताएका छन् । म्याग्निट्यूड ७.१ का गएपछि कुमामोतोस्थित इओन मलमा विस्फोटन भएको हो ।
आपत्कालीन सेवाहरूले त्यहाँ ‘धेरै मानिसहरू’ फसेको बताएका छन् । क्यूशू टापुको भित्री भागमा स्थानीय समयानुसार दिउँसो ४:२७ बजे भूकम्प गएको थियो । त्यहाँ बसोबास गर्ने डेढ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ । भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो । तर एक घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइएको छ ।
कुमामोतोको क्षेत्रको काशिमा नगरमा ‘एउटा शपिङ कम्प्लेक्सको दोस्रो तल्ला भत्किँदा कैयौँ मानिसहरू भित्रै फसेका छन्,’ अग्निनियन्त्रण विभागले एउटा विज्ञप्तिमा भनेको छ ।
जापान विश्वमै भूकम्पको बढी जोखिममा रहेको देशहरूमध्ये एक हो । एक वर्षमा करिब १,५०० वटाजति भूकम्प जाने गर्छन् । अहिलेको भूकम्प जमिनमुनि १० किलोमिटरको गहिराइबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ ।
राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडिओमा सडक तथा पुलहरू चर्किएका र कैयौँ भवनहरूमा आगो लागेको देखिएको छ । ‘हामी अझै पनि घाइते र सम्पत्तिमा पुगेको क्षतिबारे विवरण सङ्कलन गर्दै छौँ। तर मलाई प्राप्त जानकारीअनुसार अहिलेसम्म कैयौँ मानिस घाइते भइसकेका छन्,’ प्रधानमन्त्री सनाए ताकाइचीले भनिन् ।
एनएचकेका अनुसार घाइतेमध्ये १० जनाजति वृद्धवृद्धा हेरचाह केन्द्रमा बसोबास गर्ने व्यक्ति थिए भने कम्तीमा ५० जनाको अस्पतालमा उपचार भइरहेको छ । भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौँ घरहरूमा विद्युत् आपूर्ति बन्द भएको छ ।
जापानको मन्त्रिपरिषद्का मुख्यसचिव मिनोरु किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपत्कालीन सेवाका टोलीहरू परिचालन गरिएका छन् । ‘कम्पन तीव्र भएका क्षेत्रका बासिन्दाहरूलाई रेडिओ, टेलिभिजन र इन्टरनेटमार्फत् स्थानीय अधिकारीहरूले जारी गरेका सूचनाहरूमा ध्यान दिन र शान्त भई काम गर्न हामी आग्रह गर्द छौँ,’ उनले भने ।
गत डिसेम्बरमा पूर्वोत्तर जापानमा म्याग्निट्यूड ७.५ को भूकम्प जाँदा ३० जना घाइते भएका थिए । मार्च २०११ मा जापानको पूर्वी भागमा म्याग्निट्यूड ९.० को भूकम्प जाँदा ठूलो सुनामी आएको थियो । त्यसमा परी १८ हजारको मृत्यु भएको थियो ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएले सामाजिक सञ्जालको प्ल्याट्फर्म ‘एक्स’मा पोस्ट गर्दै भूकम्पले ‘केन्द्रविन्दुबाट झन्डै १०० किलोमिटर टाढा रहेको सेन्डाई आणविक ऊर्जा केन्द्रमा कुनै क्षति वा सुरक्षा समस्या नपुऱ्याएको र यो सञ्चालनमै रहेको’ जनाएको छ । ‘आईएईएले स्थितिको अनुगमन जारी राख्ने छ,’ उसले भनेको छ ।








