टोकियो – किराँत याक्थुङ चुम्लुङ जापानले ‘सिसेक्पा तङ्नाम-५०८६’ तथा साउने संक्रान्तिको अवसर पारेर इचिकावा पार्कमा विविध सांस्कृतिक कार्यक्रमसहित ‘ताम्भुङ्चा’ (वनभोज तथा बार्बिक्यू) भव्य रूपमा सम्पन्न गरेको छ । आइतबार आयोजित बार्बिक्यूमा मौलिक कला र संस्कृतिको प्रदर्शनसँगै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने दुई लिम्बू सञ्चारकर्मीलाई विशेष सम्मान गरिएको हो ।
सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ बेलायत शाखाकी अध्यक्ष बिमला सेनेहाङ लिम्बू र पत्रकार महासंघ नेपालकी केन्द्रीय सदस्य एवं ताप्लेजुङ एफएमकी व्यवस्थापक माला पालुङ्वा लिम्बू रहेका छन् । संस्थागत कामको सिलसिलामा जापान आइपुगेका उनीहरूलाई लिम्बू समुदायबाट सञ्चार क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मानपत्र र खादा ओढाएर अभिनन्दन गरिएको थियो ।
चुम्लुङ जापानका अध्यक्ष बालबिक्रम तिगेलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानका उपाध्यक्ष बुद्धि गौचन प्रमुख अतिथि रहेका थिए । त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुवास लामिछाने र चुम्लुङ जापानका संस्थापक अध्यक्ष रिद्दीबहादुर तुम्बाहाम्फे विशेष अतिथिका रूपमा उपस्थित थिए ।
समारोहमा नेफिनमा आबद्ध विभिन्न एकल जातीय संस्थाका प्रतिनिधि, चुम्लुङका पूर्व तथा वर्तमान पदाधिकारी, सल्लाहकारहरू र जापानवासी नेपाली समुदाय गरी दुई सयभन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो ।
संस्थाका उपमहासचिव सुजन आङ्बो लिम्बूका अनुसार, कार्यक्रममा याक्थुङ लिम्बूहरूको मौलिक च्याब्रुङ नाच (केलाङ) र धाननाच (यालाङ) लगायतका सांस्कृतिक नृत्य र गायन प्रस्तुत गरिएको थियो । साथै, विभिन्न खेलकुद र लिम्बू संस्कृति झल्किने परम्परागत खानाका परिकारहरूले प्रवासमा पनि गाउँघरकै झल्को दिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष तिगेलाले प्रवासको व्यस्त दैनिकीका बाबजुद आफ्नो मौलिक पर्व मनाउन उपस्थित सबैप्रति आभार प्रकट गरे । उनले आपसी सद्भाव बढाउन र आफ्नो संस्कार, संस्कृति भावी पुस्तामा हस्तान्तरण गर्न यस्ता कार्यक्रमलाई वार्षिक रूपमै निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चलेको उक्त कार्यक्रमको सञ्चालन महासचिव दुर्गा लिम्बूले गरेका थिए भने संयोजक लाखध्वज मादेम्बाले स्वागत मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया








