टोकियो — जापानमा घट्दो जन्मदर नियन्त्रण गर्ने उद्देश्य सहित टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बुद्धिमत्तामा आधारित डेटिङ एपले मिलाएका २६५ जोडी वैवाहिक सम्बन्धमा बाँधिएका छन् । टोकियो सरकारले सन् २०२४ मा सञ्चालनमा ल्याएको ‘टोकियो एन्मुसुबी’ नामक एपको आधिकारिक तथ्याङ्कअनुसार एपमार्फत चिनजान भएका सयौँ व्यक्ति वैवाहिक सम्बन्धमा बाँधिएका हुन् ।
विवाह गर्न इच्छुक करिब ७० प्रतिशत मानिस सक्रिय रूपमा जीवनसाथी खोज्ने प्रक्रियामा सहभागी नभएको एक सर्वेक्षणले देखाएपछि टोकियो सरकारले सन् २०२४ को सेप्टेम्बरमा उक्त एप सञ्चालनमा ल्याएको थियो । विवाहप्रति गम्भीर व्यक्तिलाई मात्र एपमा सहभागी गराउने उद्देश्यले प्रयोगकर्ताले कानुनी रूपमा अविवाहित रहेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । एपमा दर्ता हुनुअघि अनलाइन अन्तर्वार्तासहित विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान पनि छ ।
सरकारी तथ्याङ्कअनुसार यस वर्षको जुन ३० सम्म एपमा करिब ३६ हजार जनाले आवेदन दिएका थिए । विभिन्न परीक्षण तथा प्रमाणीकरणपछि १६ हजार जनालाई सदस्यका रूपमा दर्ता गरिएको छ । एपमार्फत भेटिएका ७६० जोडी गम्भीर प्रेम सम्बन्धमा रहेको र २६५ जोडीले विवाह गरिसकेको टोकियो सरकारले जनाएको छ । सरकारले सार्वजनिक गरेको विवरणमा ‘टर्टल’ छद्मनाम प्रयोग गरेकी एक महिलाले ४० वर्ष पुग्नुअघि अन्तिम प्रयासका रूपमा एप प्रयोग गरेको बताएकी छन् । “धेरै व्यक्तिसँग भेट गरेपछि अगस्टको अन्त्यमा मैले हालका श्रीमान्लाई भेटेँ । सेप्टेम्बरको मध्यदेखि हामी गम्भीर सम्बन्धमा थियौँ,” उनले भनिन्, “डिसेम्बरको अन्त्यमा मैले उहाँको विवाह प्रस्ताव स्वीकार गरेँ ।”
एपले प्रयोगकर्ताको रुचि, जीवनशैली तथा व्यक्तित्वसम्बन्धी जानकारी विश्लेषण गरी सम्भावित जीवनसाथी सिफारिस गर्ने गर्छ । सम्भावित जोडीबीचको अनुकूलतालाई तीन तहमा देखाइने व्यवस्था रहेको छ । ‘स्काइट्री’ छद्मनाम प्रयोग गरेका एक व्यक्तिले उच्च अनुकूलता देखाउँदा नयाँ व्यक्तिसँग भेट्न आत्मविश्वास प्राप्त हुने बताएका छन् । “एआईले प्रयोगकर्ताबीचको अनुकूलताको स्तर मूल्याङ्कन गरी देखाउँछ । कसैसँग भेट्ने वा नभेट्ने अन्योल भए पनि उच्च अनुकूलता देखिएपछि भेट्न प्रोत्साहन मिल्छ,” उनले भने । उनका अनुसार हालकी प्रेमिकासँग एआईले देखाएको अनुकूलता पूर्ण थियो ।
जापानमा विवाह र जन्मदर निरन्तर घटिरहेका बेला टोकियो सरकारले उक्त एपलाई जनसाङ्ख्यिक समस्या समाधान गर्ने एउटा प्रयासका रूपमा अघि सारेको हो । जापानी नागरिकबाट सन् २०२५ मा जन्मिएका शिशुको सङ्ख्या हालसम्मकै न्यून ६ लाख ७१ हजार २३६ मा झरेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानमा लगातार १० वर्षदेखि जन्मदर घटिरहेको छ।
सोही अवधिमा जापानमा करिब १६ लाख मानिसको मृत्यु भएको थियो, जुन जन्मिएका शिशुको सङ्ख्याभन्दा दोब्बरभन्दा बढी हो । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार प्रजनन दर ०.०१ अङ्कले घटेर १.१४ मा पुगेको छ। यद्यपि विवाहको सङ्ख्यामा भने सामान्य वृद्धि देखिएको छ ।









