समाचार सुन्नुहोस :
काठमाडौँ – गायक दुर्गेश थापा र बबिना किरातीको नयाँ गीत ‘मास्टर्नी’ सार्वजनिक भएलगत्तै विवादमा परेको छ। गीतमा प्रयोग भएका दुईअर्थी शब्द र प्रस्तुति शैलीप्रति आपत्ति जनाउँदै नेपाल शिक्षक महासंघले गीत तत्काल बन्द गरी चलचित्रमा प्रयोग नगर्न आग्रह गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलबहादुर थापाद्वारा जारी विज्ञप्तिमा गीतले महिला शिक्षक, शिक्षण पेसा र शिक्षकको गरिमामाथि आघात पुर्याएको उल्लेख गरिएको छ। गीत प्रदर्शनलाई निरन्तरता दिए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी निर्माता र सम्बन्धित कलाकारले लिनुपर्ने चेतावनी पनि महासंघले दिएको छ। अभिनेत्री प्रियंका कार्की र दुर्गेश थापाको अभिनय रहेको गीतलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन्। केहीले यसलाई मनोरञ्जनका रूपमा लिएका छन् भने धेरैले नेपाली संस्कृति र पारिवारिक मूल्यसँग मेल नखाने भन्दै आलोचना गरेका छन्।
यस विषयमा निर्माण पक्षले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। हालै गीतको प्रचारका लागि आयोजित कार्यक्रममा प्रियंका कार्की र अभिनेता आर्यन सिग्देल पनि सहभागी भएका थिए।
भिडियो :








