समाचार सुन्नुहोस :
काठमाडौँ – ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा आएको छ। काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना गत असार ५ गतेदेखि बन्द गरिएको थियो। संक्रमित पक्षीको उपचार, सरसफाइ तथा अन्य आवश्यक व्यवस्थापन पूरा गरेपछि गरिएको वातावरणीय नमुना परीक्षणमा एभियन इन्फ्लुएञ्जा (बर्डफ्लु) भाइरस नदेखिएपछि चिडियाखाना पुनः खोलिएको हो।
चिडियाखाना प्रशासनका अनुसार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरूको बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म प्रवेशका लागि खुला रहनेछ भने आगन्तुकले बेलुका ५ बजेभित्र बाहिरिनु सक्नुपर्नेछ।
प्रशासनले जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गर्न, रातो रिबनले घेरिएका क्षेत्रमा नजान, खुला स्थानमा खानेकुरा नखान, फोहोर डस्टबिनमा फाल्न र अनिवार्य रूपमा मास्क प्रयोग गर्न सबै आगन्तुकलाई आग्रह गरेको छ।








