समाचार सुन्नुहोस :
काठमाडौँ – ब्राजिलका महान फुटबलर पेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी न्युयोर्कमा आयोजित सोथबिजको लिलामीमा ४९ लाख अमेरिकी डलर (करिब ७४ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ। यो पेलेसँग सम्बन्धित वस्तुमध्ये अहिलेसम्मकै सबैभन्दा महँगो बिक्री भएको सामग्री बनेको छ।
सन् २००४ मा करिब १ लाख ५ हजार डलरमा बिक्री भएको यही जर्सीको मूल्य अहिले झन्डै ५० गुणाले बढेको हो। फुटबल इतिहासमा यो दोस्रो सबैभन्दा महँगो जर्सी हो। पहिलो स्थानमा भने डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी रहेको छ।
सोथबिजका अनुसार १७ वर्षको उमेरमा स्वीडेनविरुद्ध दुई गोल गर्दै ब्राजिललाई पहिलो विश्वकप जित दिलाउँदा पेलेले यही जर्सी लगाएका थिए। उक्त उपलब्धिले उनलाई विश्व फुटबलको आइकनका रूपमा स्थापित गरेको मानिन्छ। यसै लिलामीमा म्याराडोनाको क्याप्टेन आर्मब्यान्ड, लियोनल मेसीको जर्सी र डेभिड बेकह्यामको विश्वकप जर्सी पनि लाखौं डलरमा बिक्री भएका छन्।








