-
नेपाल र विश्वलाई जोड्न प्रवासी पत्रकारिताको भूमिकामाथि मन्थन हुने
टोकियो – विश्वभर छरिएर रहेका नेपाली सञ्चारकर्मीहरू आगामी वर्ष जापानको राजधानी टोकियोमा भेला हुने भएका छन् । नेपाल पत्रकार महासंघ (एफएनजे) जापान शाखाको आयोजनामा यही २५ जुलाईमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ आयोजना हुन लागेको हो ।
‘प्रवासी सञ्चार माध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल संकल्पका साथ हुन लागेको यस ऐतिहासिक सम्मेलनमा महासंघका १२ वटा वैदेशिक शाखाहरू सह-आयोजकका रूपमा रहेका छन् । सम्मेलनले प्रवासमा रहेर नेपाली भाषा, कला र समाचार पस्किरहेका पत्रकारहरूको साझा मञ्चका रूपमा काम गर्ने लक्ष्य राखेको छ ।
जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका ३३ जना पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनेछ । त्यस्तै, विश्वका विभिन्न मुलुकमा सक्रिय १२ वटै वैदेशिक शाखाका अध्यक्ष, प्रतिनिधि र विभिन्न देशमा क्रियाशील स्वतन्त्र नेपाली पत्रकारहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलन केवल भेलामा मात्र सीमित नभई कार्यगत एजेन्डाहरूमा केन्द्रित हुनेछ । महासंघ जापानकी उपाध्यक्ष मनिषा चम्लागाईँका अनुसार सम्मेलनमा प्रवासमा पत्रकारिताको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिनेछन् । विशेष गरी, जिम्मेवार पत्रकारितामा प्रविधिको बढ्दो प्रभाव, प्रेस स्वतन्त्रता र महासंघको केन्द्रीय समिति तथा वैदेशिक शाखाहरू बीचको साङ्गठनिक सम्बन्धलाई सुदृढ बनाउने विषयमा प्यानल छलफल र अन्तरक्रिया आयोजना गरिनेछ ।
महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्लले यो सम्मेलनले विदेशमा रहेका पत्रकारहरू पनि मातृभूमिप्रति उत्तिकै उत्तरदायी छन् भन्ने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले प्रविधिको विकाससँगै पत्रकारिताको भूगोल खुम्चिएको उल्लेख गर्दै डायस्पोराको पत्रकारिता अब नेपालका लागि पनि अपरिहार्य बनिसकेको बताउनुभयो । उहाँका अनुसार यो सम्मेलनले डायस्पोरा पत्रकारिताको बहुआयामिक पक्षमा नयाँ बहस सिर्जना गर्नेछ ।
यस अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रले पनि सक्रियता देखाएको छ । जापानको प्रतिष्ठित फिनटेक कम्पनी ‘डिजिटल वालेट कर्पोरेसन’ अन्तर्गतका स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट यस सम्मेलनको मुख्य साझेदार (मेन इभेन्ट पार्टनर) बनेका छन् । त्यस्तै, फ्रन्टअप ई–सिम लगायतका संस्थाहरूले पनि इभेन्ट पार्टनरका रूपमा सहयोग गर्नेछन् ।
विश्वभरका नेपाली पत्रकारहरूलाई एउटै मालामा गाँस्ने यो सम्मेलनले प्रवासी पत्रकारिताको संस्थागत विकास र अन्तर्राष्ट्रिय सहकार्यमा नयाँ इँटा थप्ने अपेक्षा गरिएको छ । आयोजकले सम्मेलनलाई भव्य बनाउन तयारीलाई तीव्रता दिएको छ ।








