समाचार सुन्नुहोस :
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा दुई वर्षपछि सुन्धारा कारागारबाट रिहा भएका छन्। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि उनी बुधबार कारागारबाट बाहिरिएका हुन्।
जिल्ला अदालत काठमाडौंले मंगलबार ठगी मुद्दामा झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो। तर, उनी यसअघि नै तोकिएको सजायभन्दा बढी अवधि कारागारमा बिताइसकेकाले रिहा गरिएको हो। अदालतका प्रवक्ता शिव खतिवडाका अनुसार रिहाइका लागि आवश्यक पत्र मंगलबार राति नै कारागारमा पठाइएको थियो।
झा २०८१ असार १४ गते पक्राउ परेका थिए र त्यसयता पुर्पक्षका लागि थुनामा रहेका थिए। अब सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आवश्यक प्रक्रिया पूरा गरी उनी तारेखमा बस्नेछन्। यसअघि यही प्रकरणमा प्रतिक थापा पनि यही प्रक्रियामार्फत रिहा भएका थिए।








