टोकियो – आफ्नै २ वर्षीया निर्दोष छोरीलाई चरम यातना दिएर मृत्युको मुखमा पुर्याउने एक जापानी दम्पतीलाई अदालतले ८ वर्षको कैद सजाय सुनाएको छ । वाकायामा जिल्ला अदालतले बुधबार २६ वर्षीय हारु ताइरा र उनकी २६ वर्षीया पत्नी नानामीलाई आफ्नै सन्तानको हत्या र लापरवाही गरेको अभियोगमा दोषी ठहर गर्दै जेल पठाउने फैसला गरेको हो ।
अदालतको फैसलाअनुसार, पूर्व निर्माण कामदार रहेका हारु र उनकी पत्नीले सन् २०२४ को शरद ऋतुदेखि २०२५ को जुलाईको सुरुसम्म आफ्नी छोरी ‘रुना’ लाई निरन्तर शारीरिक यातना दिनुका साथै आवश्यक खाद्यान्न र उपचारबाट वञ्चित गराएका थिए । लामो समयको प्रताडनापछि बालिकाको स्वास्थ्य गम्भीर बनेको थियो, तर उनीहरूले आफूहरूमाथि शङ्का हुने डरले छोरीलाई अस्पताल समेत लगेनन् । दुवै अभियुक्तले अदालतमा आफूमाथि लागेका सबै अभियोगहरू स्वीकार गरेका छन् ।
सन् २०२५ जुलाई १० को बिहान, आमा नानामीले आपत्कालीन सेवा (११९) मा फोन गरेर आफ्नी छोरीलाई ‘हिटस्ट्रोक’ (लू लागेको) भएको र श्वास फेर्न छाडेको भन्दै सहयोग मागेकी थिइन् । तर, अस्पताल पुर्याएपछि डाक्टरहरूले बालिकाको शरीरभरि नीलडाम र चोटहरू देखेपछि घटनाले नयाँ मोड लियो ।
सुरुमा नानामीले ती चोटहरू ‘जङ्गल जिम’ बाट लडेर लागेको भन्दै झूटो दाबी गरेकी थिइन् । तर, सोही दिन रुनाको मृत्यु भयो । मृत्युको कारण ‘ट्रमाटिक शक’ (चोटका कारण उत्पन्न कडा आघात) देखिएको थियो । सीटी स्क्यान गर्दा बालिकाको बंगारो भाँचिएको र कयौँ पुराना चोटहरू फेला परेपछि अस्पतालले तुरुन्तै प्रहरीलाई खबर गरेको थियो ।
अनुसन्धानका क्रममा के खुल्यो भने २ वर्षको उमेरमा सामान्यतया हुनुपर्ने औसत तौलभन्दा आधा मात्र अर्थात् केवल ६ किलोग्राम तौल रुनाको थियो । उनी चरम कुपोषणको शिकार भएकी थिइन् । प्रहरीसँगको बयानमा बाबुआमाले स्वीकार गरेअनुसार, उनीहरूले रुनालाई पर्याप्त खाना दिँदैनथे र रिस उठेको बेला अनुहार तथा टाउकोमा मुक्का प्रहार गर्थे । बंगारो कसरी भाँचियो भन्ने प्रश्नमा आमा नानामीले रुनालाई निर्दयीपूर्वक भुइँमा पछारेको स्वीकार गरिन् ।
सरकारी वकीलहरूले बहसका क्रममा दाबी गरेअनुसार यो दम्पतीले आफ्नी छोरीलाई माया र हेरचाह गर्नुको साटो आफ्नो दैनिक ‘तनाव मेट्ने माध्यम’ बनाएका थिए । बाहिरको रिस घरमा आएर सानी छोरीमाथि पोख्ने उनीहरूको पाशविक प्रवृत्तिका कारण एउटा मासूम जीवनको अन्त्य भएको अदालतको ठहर छ ।








