Deneme Bonusu Veren Siteler
बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

टोकियो – जापानस्थित नेपाली राजदूतावासले नयाँ राहदानी प्रणाली (ई-पासपोर्ट) औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ । दूतावासले आवश्यक सम्पूर्ण प्राविधिक तयारी सम्पन्न गरी सोमबारदेखि नयाँ प्रणालीमार्फत राहदानी आवेदन लिन सुरु गरेको हो ।

नेपाल सरकारको राहदानी सेवालाई थप सुरक्षित, आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यअनुरूप टोकियोस्थित दूतावासले यो नयाँ प्रणालीमा स्थानान्तरण (Switch) गरेको जनाएको छ । यद्यपि, प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकाले सेवा प्रवाहमा केही प्राविधिक चुनौतीहरू देखा पर्न सक्ने भन्दै दूतावासले सेवाग्राहीहरूलाई विशेष ध्यान दिन सूचित गरेको छ ।

नयाँ प्रणाली पूर्ण रूपमा स्थिर (Stable) नहुन्जेलसम्म आवेदन प्रक्रियामा सामान्य प्राविधिक समस्या आउन सक्ने र सेवा प्रवाहमा केही ढिलाइ हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै दूतावासले हालका लागि अत्यन्तै जरुरी परेका सेवाग्राहीलाई मात्र आवेदन दिन अनुरोध गरेको छ ।

दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘राहदानी हराएको, म्याद सकिएको वा तत्कालै नयाँ राहदानी आवश्यक भएका सेवाग्राहीहरूले मात्र अनलाइन आवेदन फाराम भरी दूतावासमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।’

राहदानीका लागि इच्छुक र योग्य सेवाग्राहीले राहदानी विभागको आधिकारिक वेबसाइट https://online.nepalpassport.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । अनलाइन फाराम भरेपछि आवश्यक कागजातसहित दूतावासमा स्वयं उपस्थित भई ‘बायोमेट्रिक दर्ता’ गराउनुपर्ने प्रावधान रहेको छ ।

प्रणाली पूर्ण रूपमा सुचारु भएपछि राहदानी सेवा थप सहज, छिटो र प्रभावकारी हुने अपेक्षा दूतावासले राखेको छ । राहदानी प्रणालीमा आएको यस परिवर्तन र त्यसबाट पर्न सक्ने केही असुविधाप्रति दूतावासले क्षमा माग्दै सेवाग्राहीहरूबाट धैर्यता र सहयोगको अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया