
टोकियो – थाइल्यान्डको राजधानी बैंककस्थित एक म्युजिक बारमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
घटनामा घाइते भएका ७० जनाभन्दा बढीको अस्पतालमा उपचार भैरहेको अधिकारीहरूले बताएका छन् । बैंकक महानगरका अधिकारीहरूका अनुसार अस्पतालमा उपचार गराइरहेकामध्ये २४ जनाको अवस्था गम्भीर रहेको ।
बैंककको उत्तरी क्षेत्रमा रहेको ‘रोङ बियर ना लाडप्राओ’ बारमा आइतबार राति आगलागी भएको थियो । पछिल्लो १७ वर्षमा बैंककमा भएको यो सबैभन्दा घातक आगलागी भएको अधिकारीहरूले जनाएका छन् । आगो नियन्त्रणमा लिन अग्निनियन्त्रण टोलीलाई करिब आधा घण्टा लागेको थियो ।
थाई भाषामा आफूलाई ब्रुअरी वा बियर हलका रूपमा चिनाउने उक्त बारले एकैपटक ६ सय ग्राहक अटाउन सक्ने दाबी गरेको थियो । तर आगलागीका बेला बारभित्र कति मानिस थिए भन्ने अझै स्पष्ट भएको छैन ।
आगलागीको कारण र बारले आवश्यक सुरक्षा मापदण्ड पालना गरेको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार मृत्यु भएकामध्ये अधिकांश झ्याल नभएका शौचालयभित्र फेला परेका थिए । आगोबाट बच्न उनीहरू शौचालयतर्फ भागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
बारका पूर्वग्राहक तथा मृतकका आफन्त र शुभेच्छुकहरू मंगलबार घटनास्थल पुगेका थिए । आगलागीबाट पग्लिएका सांगीतिक उपकरण, जलेका कुर्सी तथा अन्य सामग्री घटनास्थल वरपर छरिएका छन् । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका अधिकारीहरूले ती सामग्री सोमबार बारबाहिर निकालेका थिए।








