समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न उठाउन नपाइने वातावरण सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशमा संविधान र कानुनको परिधिभन्दा माथि ‘श्री ८ बालेन्द्र शाह’ हुनुहुन्छ भन्ने खालको चेतावनीपूर्ण सन्देश आम नागरिकलाई दिन खोजिएको टिप्पणी गरे। पौराणिक पात्र हिरण्यकश्यपुको प्रसंग उल्लेख गर्दै उनले प्रश्न गर्नेलाई दबाउने प्रवृत्ति बढ्दै गएको आरोप लगाए। राईले सुरक्षा व्यवस्थापनमा भएको कमजोरीको जिम्मेवारी लिनुपर्ने गृहमन्त्री सुधन गुरुङले त्यसको साटो स्थानीय तहलाई दोष दिएको पनि बताए।
उनले १८२ सिटको बहुमतले संविधान उल्लंघन गर्ने वा नागरिकको अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने अधिकार नपाउने स्पष्ट गर्दै लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाको सम्मान गर्न सरकारलाई आग्रह पनि गरे।








