Deneme Bonusu Veren Siteler
बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026

टोकियो – कोभिड-१९ संक्रमण निको भएपछि पनि धेरै मानिसमा देखिने दीर्घकालीन समस्या (लङ कोभिड) को प्रमुख कारण जापानी अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । उनीहरूका अनुसार कोरोना संक्रमणले शरीरभित्र पहिलेदेखि नै निष्क्रिय अवस्थामा रहेको अर्कै भाइरसलाई सक्रिय बनाइदिँदा ‘लङ कोभिड’का लक्षणहरू देखिने गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार करिब ६ प्रतिशत कोरोना संक्रमितहरूमा निको भइसकेपछि पनि अत्यधिक थकान, मानसिक तनाव (डिप्रेसन) र कपाल झर्ने जस्ता दीर्घकालीन समस्याहरू देखिने गरेका छन् । यस्तो किन हुन्छ भन्नेबारे हालसम्म वैज्ञानिकहरू ठोस निष्कर्षमा पुग्न सकेका थिएनन् ।

जापानको जिकेई युनिभर्सिटी स्कुल अफ मेडिसिनका अनुसन्धानकर्तासहितको टोलीले लङ कोभिडको उपचार गराइरहेका १५० भन्दा बढी बिरामीको रगतको नमुना परीक्षण गरेका थिए । अनुसन्धानका क्रममा करिब ७० प्रतिशत बिरामीको रगतमा ‘सिथ-वान’ नामक विशेष प्रोटिन फेला परेको छ ।

यो प्रोटिन शरीरभित्र ‘सुतेको’ वा निष्क्रिय अवस्थामा रहने ‘हर्पिस’ भाइरस सक्रिय भएपछि मात्र उत्पन्न हुन्छ । वैज्ञानिकहरूका अनुसार जब कुनै व्यक्तिलाई कोरोना संक्रमण हुन्छ, त्यसले शरीरको प्रतिरोधात्मक क्षमतासँग खेल्दै सुतेर बसेको हर्पिस भाइरसलाई ब्युँझाउँछ । सोही भाइरसले शरीरमा सिथ-वान प्रोटिन बनाउन थाल्छ ।

अनुसन्धानकर्ताहरूले यो प्रक्रिया पुष्टि गर्न मुसाहरूमा परीक्षण गरेका थिए। मुसाको शरीरमा सिथ-वान प्रोटिनको मात्रा बढाउँदा उनीहरूको मस्तिष्कको कार्यक्षमतामा ह्रास आएको र स्नायु प्रणालीमा आवश्यक रसायनहरूको कमी देखिएको थियो । यसको परिणामस्वरुप मुसाहरूमा पनि मानिसमा जस्तै थकान र डिप्रेसनका लक्षणहरू विकास भएका थिए । यस अनुसन्धानले लङ कोभिड केवल एउटा संक्रमणको अवशेष मात्र नभएर शरीरभित्र हुने जटिल जैविक प्रक्रियाको परिणाम भएको प्रमाणित गरिदिएको छ ।

विश्वविद्यालयकी लेक्चरर ओका नाओमीले यस खोजले लङ कोभिडको उपचारमा नयाँ ढोका खोलेको बताएकी छिन् । ‘यस खोजले लङ कोभिडको वास्तविक कारण पहिचान गरेको छ,’ उनले भनिन्, ‘अब हामी यस प्रोटिन वा हर्पिस भाइरसलाई सिधै नियन्त्रण गर्ने औषधि वा उपचार पद्धति विकास गर्न सक्छौँ ।’

तपाईको प्रतिक्रिया