टोकियो – टोकियोको एउटा स्थानीय निकायले हराएका बालबालिका र वृद्धवृद्धाहरूको खोजी कार्यलाई छिटो र प्रभावकारी बनाउन सार्वजनिक स्थानमा ‘फेसियल रिकग्निसन’ (अनुहार चिन्न सक्ने) क्षमता भएका अत्याधुनिक एआई क्यामराहरू जडान गरेको छ ।
सार्वजनिक सुरक्षाका लागि चालिएको यो ऐतिहासिक कदम भनिए तापनि व्यक्तिगत गोपनीयता र नागरिकको सुक्ष्म निगरानी हुन सक्ने भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । टोकियोको आराकावा वार्डले गत अप्रिलदेखि जेआर निप्पोरी स्टेशन वरपरका मुख्य सडक र विद्युतका पोलहरूमा ३३ वटा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जडित सुरक्षा क्यामराहरू परीक्षणका रूपमा सञ्चालनमा ल्याएको हो । यो क्षेत्र विद्यार्थी, कर्मचारी र विदेशी बासिन्दाहरूको अत्यधिक चाप हुने क्षेत्र मानिन्छ ।
यदि कुनै बालबालिका वा बिर्सने रोग (डिमेन्सिया) भएका वृद्धवृद्धा हराएमा, उनीहरूका परिवारले वार्ड कार्यालयमा निवेदन दिन सक्छन् । परिवारले उपलब्ध गराएको फोटोलाई एआई प्रणालीमा राखिन्छ, जसले सडकमा जडान गरिएका क्यामराको फुटेज स्क्यान गरेर हराएको व्यक्तिसँग मिल्दोजुल्दो अनुहार तत्काल पहिचान गर्छ ।
जापानमा कुनै पनि स्थानीय सरकारले सार्वजनिक स्थानमा यस प्रकारको ‘आउटडोर’ फेसियल रिकग्निसन प्रविधि प्रयोग गरेको यो पहिलो पटक हो । आराकावामा मात्रै वार्षिक रूपमा करिब १०० वटा व्यक्ति हराएका उजुरी दर्ता हुने गर्छन् । हालसम्म प्रहरी र कर्मचारीहरूले पैदल गस्ती गरेर मात्र खोजी गर्दै आएका थिए ।
वार्ड कार्यालयका अनुसार, सङ्कलित फुटेजहरू सात दिनसम्म मात्र सुरक्षित राखिन्छन् । यी तथ्याङ्कहरू वार्ड कार्यालयको एउटा लक गरिएको कोठामा रहेको विशेष कम्प्युटरमार्फत सीमित आधिकारिक कर्मचारीले मात्र पहुँच पाउन सक्छन् । अधिकारीहरूले यसको प्रयोग केवल मानवीय सहायता र हराएका मानिस खोज्नका लागि मात्र गरिने दाबी गरेका छन् ।
यद्यपि, यस प्रविधिको प्रयोगले विश्वव्यापी रूपमा गोपनीयताको नयाँ बहस छेडिदिएको छ । युरोपेली संघको नयाँ एआई कानुनले सार्वजनिक स्थानमा वास्तविक समयमा मानिसको बायोमेट्रिक डाटा सङ्कलन गर्न कडा प्रतिबन्ध लगाएको छ । जापानको व्यक्तिगत सूचना संरक्षण ऐनले पनि अनुहारको तस्बिरलाई ‘व्यक्तिगत सूचना’ को रूपमा वर्गीकृत गरेको छ, जसको प्रयोगका लागि स्पष्ट उद्देश्य खुलाउनु अनिवार्य हुन्छ ।








