Deneme Bonusu Veren Siteler
बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026

टोकियो – नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको सुखद अवसरमा जापानको राजधानी टोकियोमा ‘भानु उत्सव २०८३’ विशेष साहित्यिक रौनकका साथ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर र तनहुँ समाज जापानको संयुक्त आयोजनामा भएको कार्यक्रमले प्रवासमा नेपाली भाषा, साहित्य र मौलिक संस्कृतिको संरक्षणको एउटा बलियो सन्देश प्रवाह गरेको छ । कार्यक्रममा आदिकविका अमर सिर्जनाहरूको भावपूर्ण वाचनले सभाहल गुञ्जायमान बनेको थियो । स्रष्टाहरू गिरिजा गैह्रे, सविना रेग्मी र गृष्मा पौड्यालले भानुभक्तका चर्चित छन्दोबद्ध रचनाहरू वाचन गर्दै उपस्थित नेपाली समुदायलाई साहित्यिक गौरवको अनुभूति गराएका थिए ।

अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको संयोजन तनहुँ समाज जापानका अध्यक्ष डा. भोजराज पन्थले गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै अतिथिहरू विष्णु प्रसाद घिमिरे, प्रकाश पौडेल ‘माइला’, दिनेशराज ज्ञवाली र अरुण पौडेलले नेपाली राष्ट्रियता र भाषिक एकतामा भानुभक्तको योगदानबारे चर्चा गरे । प्रवासमा रहेका नेपालीहरूले यस्ता कार्यक्रममार्फत नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास वक्ताहरूको थियो । कार्यक्रममा तनहुँ समाज जापानका वरिष्ठ उपाध्यक्ष दीपक घिमिरेले ‘भानुभक्तको व्यक्तित्व र कृतित्व’ बारे प्रकाश पार्दै उनको बहुआयामिक पक्षबारे जानकारी गराए ।सोही अवसरमा साहित्यकार सुमित्रा सुमीको कविता सङ्ग्रह ‘कलेजी बर्को’ को औपचारिक विमोचन गरिएको थियो । कार्यक्रममा खुला रचना वाचन खण्ड विशेष रोचक रह्यो, जहाँ डिजी शर्मा, सुजाता शर्मा, शान्ति अधिकारी, बैकुण्ठ भट्ट, सुजन बैरागी, मनिषा सुबेदी, विश्वबन्धु भण्डारी लगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आ-आफ्ना कविता तथा गजल प्रस्तुत गरेका थिए । चार वर्षीय बालिका इवा पौडेलको आकर्षक नृत्यले कार्यक्रममा सांस्कृतिक रौनकता थपेको थियो ।

भानु उत्सवको अवसरमा अनेसास केन्द्रको एसिया क्षेत्रीय उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका अनेसास जापानका पूर्व अध्यक्ष दिनेशराज ज्ञवालीलाई भव्य बधाई तथा शुभकामना अर्पण गरिएको थियो । करिब ९० जना साहित्यप्रेमीहरूको सहभागिता रहेको कार्यक्रमको स्वागत मन्तव्य तनहुँ समाजका महासचिव डा. दिपेन्द्र ढकालले राखेका थिए भने कार्यक्रम सञ्चालन अनेसास जापानका महासचिव मनोज मौसम केसी र सचिव विनिशा सापकोटाले संयुक्त रूपमा गरेका हुन् ।

तपाईको प्रतिक्रिया