
टोकियो – दुई वर्षपछि पुनः विकसित भएको एल निनो मौसमी प्रणाली अझ शक्तिशाली बन्दै ‘सुपर एल निनो’मा परिणत हुन सक्ने देखिएपछि यसले जापानको कृषि उत्पादन पनि प्रभावित हुनसक्ने चिन्ता बढेको छ ।
सामान्यतया एल निनोका कारण जापानमा तुलनात्मक रूपमा हल्का गर्मी हुने गरे पनि यस वर्ष भने असामान्य गर्मी बढ्न सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् । अत्यधिक तापक्रमका कारण विशेषगरी धानको गुणस्तरमा नकारात्मक असर पर्न सक्ने उनीहरूको अनुमान छ ।
सन् २०२३–२०२४ को एल निनोका क्रममा पनि जापानमा अत्यधिक गर्मी बढेको थियो । त्यसबेला तापक्रमका कारण धानको गुणस्तर घट्नुका साथै उत्पादनमा असर परेको थियो । चामलको आपूर्ति घटेपछि बजारमा अभाव सिर्जना हुनुका साथै मूल्यसमेत उल्लेख्य रूपमा वृद्धी भएको थियो ।
पेरुको समुद्री तट आसपासको निश्चित क्षेत्रमा समुद्री सतहको तापक्रम लगातार ६ महिनाभन्दा लामो समय सामान्य अवस्थामा भन्दा कम्तीमा ०.५ डिग्री सेल्सियस बढी कायम रहेमा त्यसलाई एल निनो भनिन्छ ।
तापक्रम सामान्यभन्दा २ डिग्री सेल्सियस वा त्यसभन्दा बढी पुगेमा मौसमविद्हरूले त्यसलाई ‘सुपर एल निनो’का रूपमा परिभाषित गर्छन् । सन् १९४९ यता देखिएका १९ वटा एल निनोमध्ये पाँचवटा मात्र उक्त स्तरमा पुगेका छन् । विज्ञहरूले यसै महिनादेखि समुद्री तापक्रम २ डिग्रीको सीमा पार गर्न सक्ने बताएका छन् ।
सामान्य एल निनोको अवस्थामा फिलिपिन्स आसपास बादल निर्माण र वर्षा गराउने संवहन गतिविधि कमजोर हुन्छ । त्यसका कारण प्रशान्त महासागरीय उच्चचापीय क्षेत्र उत्तरतर्फ बलियो रूपमा विस्तार हुन नसक्दा जापान वरपर बादल बढ्ने र गर्मी केही कम हुने गर्छ ।
तर यस वर्ष फिलिपिन्स आसपासको समुद्री सतहको तापक्रम पनि उच्च रहेकाले संवहन गतिविधि सक्रिय रहने अनुमान गरिएको छ । यसले प्रशान्त उच्चचापीय प्रणाली उत्तरतर्फ विस्तार हुने र जापानमा दक्षिणबाट आउने तातो हावाको प्रभाव पर्ने सम्भावना रहने विज्ञहरूको विश्लेषण छ ।
पश्चिमी वायुको बहाव पनि सामान्यभन्दा उत्तरतर्फ सर्ने अनुमान गरिएको छ । त्यसका कारण जापानमा दक्षिणी तातो हावाको प्रभाव लामो समयसम्म रहन सक्ने बताइएको छ ।
मौसम पूर्वानुमानअनुसार जुलाईदेखि सेप्टेम्बरसम्म पश्चिमी र पूर्वी जापानका साथै ओकिनावा तथा अमामी टापु क्षेत्रमा तापक्रम औसतभन्दा बढी रहनेछ । उत्तरी जापानमा पनि तापक्रम औसत वा औसतभन्दा माथि रहने सम्भावना छ ।
अत्यधिक गर्मी कायम रहे धानसहित विभिन्न बालीको वृद्धि, उत्पादन र गुणस्तर प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताएका छन् ।
मिए विश्वविद्यालयका मौसम विज्ञानका प्राध्यापक योसिहिरो ताचिबानाका अनुसार अघिल्लो एल निनोका क्रममा समुद्री सतहको मासिक औसत तापक्रम सामान्यभन्दा २.३ डिग्री सेल्सियससम्म बढेको थियो । उक्त समयमा देखिएको अत्यधिक गर्मीले धानको गुणस्तर घटाएको उनको भनाइ छ ।
एहिमे प्रिफेक्चरको मात्सुयामा सहरका ४२ वर्षीय किसान कोजी निशिमोतोले यस वर्षदेखि अत्यधिक गर्मी सहन सक्ने ‘निजी नो किरामेकी’ जातको धान लगाउन थालेका छन् ।
“अत्यधिक गर्मीको चिन्ता छ, तर हामीले तत्काल गर्न सक्ने धेरै कुरा छैन,” उनले भने, “मेरो वरपरका धेरै किसान पनि गर्मी सहन सक्ने जाततर्फ सर्दैछन् ।”
उक्त धानको जात विकास गरेको राष्ट्रिय कृषि तथा खाद्य अनुसन्धान संगठनका धान प्रजनन समूह प्रमुख र्योता काजीले अनुमानभन्दा तीव्र रूपमा यसको खेती विस्तार भइरहेको बताए ।
“यो जात अपेक्षा गरेभन्दा धेरै क्षेत्रमा फैलिरहेको छ,” उनले भने, “यसको अर्थ अत्यधिक गर्मीका कारण धेरै उत्पादक कठिनाइमा परिरहेका छन् भन्ने पनि हुन सक्छ ।”
प्राध्यापक ताचिबानाले गर्मीको असर धानमा मात्र सीमित नहुने चेतावनी दिएका छन् । अन्य बाली, कृषि उत्पादन तथा मत्स्य क्षेत्रमा पनि समुद्री तापक्रम वृद्धि र असामान्य मौसमको असर देखिन सक्ने उनको भनाइ छ ।
“असामान्य मौसमले निम्त्याइरहेको तापक्रम वृद्धिबारे सचेत हुन जरुरी छ,” उनले भने, “अत्यधिक वर्षा र गर्मीअनुकूल जीवनशैली विकास गर्नुका साथै कार्बन डाइअक्साइड उत्सर्जन घटाउनेतर्फ पनि व्यवहार परिवर्तन आवश्यक छ ।”
स्रोत : क्योदो








