टोकियो – चर्चित युवा नेता तथा सांसद ज्ञानेन्द्र शाहीको उपस्थितिमा जापानको टोकियोमा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । ‘कर्णालीको आवाज, विश्वभरका नेपालीसँग’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश समाज, जापानले यहि जुलाई १६ तारिखका दिन अन्तरक्रिया आयोजना गर्न लागेको हो ।
आयोजकका अनुसार ‘कर्णालीदेखि जापानसम्म – विचार, नेतृत्व र भविष्य’ विषयक खुला अन्तरक्रियामा सांसद शाहीले नेपालको वर्तमान राजनीतिक अवस्था, सुशासन, जनहित, र युवाहरूको भूमिकाबारे आफ्ना स्पष्ट र निर्भीक धारणाहरू राख्नेछन् । गाउँका चौतारीदेखि संसद् भवनसम्म भ्रष्टाचार विरोधी अभियान र जवाफदेहिताका लागि प्रखर आवाज उठाउँदै आएका शाहीसँग प्रत्यक्ष संवाद गर्न जापानबासी नेपालीहरू उत्साहित देखिएका छन् । शाही गत फागुनमा भएको प्रतिनिधिसभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रत्यक्षमा निर्वाचित एकमात्र सांसद हुन् ।
कार्यक्रम केवल एक औपचारिक भेटघाट मात्र नभई राष्ट्रिय मुद्दाहरूमा वैचारिक मन्थन गर्ने थलो हुने कर्णाली प्रदेश समाज, जापानले जनाएको छ । कार्यक्रममा सहभागीहरूले नेपालको विकास, प्रवासमा रहेका नेपालीहरूको अवसर र चुनौती तथा समृद्ध नेपाल निर्माणमा डायस्पोराको भूमिकाबारे सांसद शाहीसँग सिधा प्रश्नोत्तर गर्न सक्नेछन् ।
समाजले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा गरेको छ । सकारात्मक संवादमार्फत देशको भविष्यप्रति चिन्तन गर्न र आपसी एकता बलियो बनाउन यो कार्यक्रम फलदायी हुने विश्वास लिइएको छ । कार्यक्रमबारे थप जानकारी लागि आयोजकले ०७०-३२४९-८४६४, ०७०-१४६६-९८४१, र ०८०-६४९९-२२२५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।








