
टोकियो – चीनया सेनाले सोमबार पनडुब्बीद्वारा प्रशान्त महासागरतर्फ क्षेप्यास्त्र परीक्षण गरेको छ । चीनया सरकारी सञ्चारमाध्यमले उक्त परीक्षणबारे जानकारी सार्वजनिक गरेसँगै जापान, अस्ट्रेलिया र न्युजिल्यान्डले असन्तुष्टि व्यक्त गरेका छन् ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार जनमुक्ति सेनाको नौसेनाअन्तर्गतको एक आणविक पनडुब्बीले सोमबार दिउँसो १२ बजेर १ मिनेटमा प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जलक्षेत्रतर्फ नक्कली वारहेड जडान गरिएको क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।
सिन्ह्वाले उक्त क्षेप्यास्त्र निर्धारित समुद्री क्षेत्रमा खसेको जनाएको छ । यद्यपि क्षेप्यास्त्र खसेको वास्तविक स्थानबारे थप विवरण दिइएको छैन ।
चीनले उक्त परीक्षण आफ्नो वार्षिक सैन्य प्रशिक्षण कार्यक्रमअन्तर्गतको नियमित अभ्यास भएको जनाएको छ । तर अस्ट्रेलियाले भने यस्तो परीक्षणले क्षेत्रीय स्थिरतामा असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङका अनुसार चीनले परीक्षणअघि अस्ट्रेलियाली सरकारलाई जानकारी दिएको थियो । यद्यपि उनले उक्त कदमलाई क्षेत्रीय स्थिरताका लागि नकारात्मक गतिविधिका रूपमा टिप्पणी गरिन् ।
फिजीको राजधानी सुवामा आयोजित पत्रकार सम्मेलनमा वङले भनिन्, “चीनको तीव्र सैन्य विस्तारको सन्दर्भमा यो परीक्षण भएको हो । तर आफ्नो उद्देश्यबारे यस क्षेत्रले अपेक्षा गरेको अनुसारको पारदर्शिता र विश्वास दिलाउने प्रयास चीनबाट देखिएको छैन भन्नेमा अस्ट्रेलिया स्पष्ट छ ।”
जापान सरकारले पनि क्षेप्यास्त्र प्रक्षेपणबारे पूर्वसूचना प्राप्त गरेको जनाएको छ । टोकियोले चीनलाई परीक्षणबारे पुनर्विचार गर्न आग्रह गरेको छ । जापानी सरकारले भनेको छ, “चिनियाँ सेनाको बढ्दो गतिविधिप्रति हामीले गम्भीर चिन्ता व्यक्त गरेका छौं ।”
जापानका अनुसार चिनियाँ अधिकारीहरूले आइतबार नै जापानी तटरक्षक बललाई अन्तरिक्षजन्य भग्नावशेष जापानको विशेष आर्थिक क्षेत्रभित्र खस्न सक्ने सम्भावनाबारे सूचना दिएका थिए । जापानी समाचार संस्था क्योदोले सरकारी स्रोतलाई उद्धृत गर्दै क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको जनाएको छ ।
न्युजिल्यान्डले पनि उक्त परीक्षणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सका अनुसार परीक्षण भएको केही घण्टाभित्रै आफ्नो देशलाई त्यसबारे जानकारी दिइएको थियो । “न्युजिल्यान्डका लागि यो सहज घटना होइन र यसले गम्भीर चिन्ता उत्पन्न गरेको छ,” पिटर्सले जारी गरेको वक्तव्यमा भनेका छन् । उनले थपे, “अन्य प्रशान्त क्षेत्रका छिमेकी देशहरूजस्तै हामी पनि चीनले दक्षिण प्रशान्त क्षेत्रलाई आफ्नो क्षेप्यास्त्र क्षमता परीक्षण गर्ने स्थलका रूपमा प्रयोग गरोस् भन्ने चाहँदैनौं ।”
चीनले यसअघि सन् २०२४ मा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । यस्तो परीक्षण चीनका लागि विरलै हुने सैन्य गतिविधिमध्ये एक थियो र त्यसले चीनको बढ्दो सैन्य क्षमतातर्फ अन्तर्राष्ट्रिय ध्यान तानेको थियो ।पछिल्लो क्षेप्यास्त्र परीक्षणसँगै हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधि र क्षमताबारे क्षेत्रीय देशहरूको चिन्ता फेरि सतहमा आएको छ ।








