टोकियो – प्रतिकूल मौसम र १० खेलाडीमा सीमित हुनुको बाबजुद इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा सह-आयोजक मेक्सिकोमाथि ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ । मेक्सिको सिटी स्टेडियममा सोमबार भएको यो सनसनीपूर्ण जितसँगै इंग्ल्यान्डले प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
भारी वर्षा र खराब मौसमका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको खेलमा जुड बेलिङघमको जादुमयी प्रदर्शन र ह्यारी केनको निर्णायक पेनाल्टी इंग्ल्यान्डको जितको मुख्य आधार बन्यो ।
खेलको पहिलो हाफमा इंग्ल्यान्डले मेक्सिकोमाथि पूर्ण वर्चस्व जमाएको थियो । स्टार मिडफिल्डर जुड बेलिङघमले ३६औँ मिनेटमा गोलको खाता खोलेका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै (३८औँ मिनेटमा) उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । यद्यपि, ४२औँ मिनेटमा मेक्सिकोका जुलियन क्विनोनेसले गोल फर्काएपछि खेल २-१ को स्थितिमा पुगेको थियो ।
दोस्रो हाफको सुरुमै जारेल क्वानसाले रातो कार्ड पाउँदै मैदान छाडेपछि इंग्ल्यान्ड केही समय दबाबमा देखिएको थियो । १० खेलाडीमा खुम्चिए पनि ६०औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टीको अवसर पायो, जसमा कप्तान ह्यारी केन चुकेनन् । जारी विश्वकपमा केनको यो व्यक्तिगत छैटौँ गोल हो । तर, ६९औँ मिनेटमा मेक्सिकोले पनि पेनाल्टी पायो र राउल जिमिनेसले त्यसलाई गोलमा परिणत गर्दै खेल ३-२ को स्थितिमा ल्याएर प्रतिस्पर्धालाई अन्तिमसम्म रोमाञ्चक बनाए ।
घरेलु मैदान र दर्शकको साथ पाए पनि हारसँगै मेक्सिकोको विश्वकप यात्रा समाप्त भएको छ । क्यानाडापछि प्रतियोगिताबाट बाहिरिने मेक्सिको दोस्रो सह-आयोजक राष्ट्र बनेको छ ।
अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले क्वाटरफाइनलमा नर्वेको सामना गर्नेछ, जसले यसअघि नै ब्राजिललाई पाखा लगाउँदै ऐतिहासिक यात्रा तय गरिसकेको छ । केन र हालान्ड जस्ता विश्वका दुई उत्कृष्ट स्ट्राइकरहरूबीचको भिडन्तले आगामी क्वाटरफाइनल थप रोचक हुने अनुमान गरिएको छ ।








