Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २, २०८३
Tuesday, June 16, 2026

टोकियो – जापानमा रहेका नेपाली प्रतिभाहरूबीचको प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई पछि पार्दै केशव शर्माले ‘प्रथम जापान लोक तारा-२०२६’ को ऐतिहासिक उपाधि चुम्न सफल भएका छन् । नेपाली लोक संगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाले आयोजना गरेको ‘अम्बर बिरही गुरुङ सांगीतिक साँझ’ तथा ‘प्रथम जापान लोक तारा-२०२६’मा शर्माले सो उपाधि जितेका हुन् ।

टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा आइतबार सम्पन्न भव्य सांगीतिक समारोहमा फाइनल चरणमा पुगेका उत्कृष्ट पाँच प्रतिस्पर्धीहरूलाई प्रत्यक्ष (लाइभ) गायन प्रस्तुति गराइएको थियो । निर्णायकहरूको मूल्याङ्कनका आधारमा शर्मा प्रथम घोषित भएका हुन् । उपाधिसँगै उनले नगद १ लाख १ हजार येन, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा तनुजा शाही द्वितीय (५१ हजार येन), पार्वती आचार्य तृतीय (३१ हजार येन) तथा किरण प्रभात र आरती परियारले सान्त्वना स्थान (जनही ११ हजार येन) हासिल गरे ।

प्रतियोगिताको निर्णायक मण्डलमा प्रतिष्ठानका केन्द्रीय सचिव एवं गायक रामकृष्ण बम मल्ल (संयोजक), चर्चित गायक सूर्य खड्का र गायिका ज्योति लोहनी रहनुभएको थियो ।

रामकृष्ण बम मल्ललाई ‘लोक सङ्गीत शिरोमणि’को सम्मान
सोही समारोहमा नेपाली लोक सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत लोकप्रिय गायक, सर्जक एवं निर्णायक संयोजक रामकृष्ण बम मल्ललाई ‘लोक सङ्गीत शिरोमणि-२०२६’ बाट विभूषित गरिएको छ । मौलिक सिर्जना, गायन र नयाँ पुस्तालाई लोक सङ्गीतमा डोर्‍याउन उहाँले खेल्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै आयोजकले सो सम्मान प्रदान गरेको हो ।

सम्मान ग्रहणपछि मल्लले प्रवासमा रहेर पनि नेपाली भाषा र मौलिक कलाको जगेर्ना गर्न प्रतिष्ठानको जापान शाखाले खेलेको भूमिकाको प्रशंसा गर्दै यो सम्मान सम्पूर्ण सङ्गीतकर्मीहरूको गौरव भएको बताउनुभयो ।अम्बर बिरहीको प्रस्तुतिले हल मन्त्रमुग्ध
कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोक सङ्गीतका जिउँदो इतिहास मानिने वरिष्ठ गायक एवं सर्जक अम्बर बिरही गुरुङ रहनुभएको थियो । ७२ वर्षको उमेरमा पनि ऊर्जावान् देखिनुभएका प्रतिष्ठानका संस्थापक अध्यक्ष गुरुङले आफ्ना दर्जनौँ कालजयी गीतहरू प्रस्तुत गर्दा हलमा उपस्थित दर्शकहरू भावुक बन्दै नाचेका थिए । उहाँको प्रस्तुतिले प्रवासमा नेपालीपन र मौलिक संस्कृतिको जीवन्त झझल्को दिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति जोगाउनु गौरवको कुरा भएको बताउनुभयो । उहाँले प्रतिष्ठानका यस्ता गतिविधिले नेपाली समुदायबीचको एकता र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्र राज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष सोना केसीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव दिपक कंडेल ‘सफल’, महिला उपाध्यक्ष बाला दुरा र सल्लाहकार रमेश पाण्डे (छवि) ले संयुक्त रूपमा गर्नुभएको थियो । जापानभर रहेका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमलाई जापानमा आयोजना गरिएको अहिलेसम्मकै व्यवस्थित र गरिमामय लोक सङ्गीतको उत्सवका रूपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया