टोकियो – पूर्वी जापानको इबाराकी प्रान्तस्थित सिमोचुमा सहरका मेयर तोयोजी सुदो सोमबार बिहान एक ढलको कुलोमा मृत फेला परेका छन् । ६७ वर्षीय सुदोको शव फेला परेको र घटनास्थलको प्रकृति हेर्दा उनले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमानसहित प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सिमोचुमा प्रहरी कार्यालयका अनुसार सुदो आइतबार राति अबेरसम्म घर नफर्किएपछि परिवारले ११:१५ बजे प्रहरीमा उजुरी दिएका थिए । खोजी गर्ने क्रममा सोमबार बिहान करिब १२:५० बजे उनको घरबाट २ किलोमिटर दक्षिणमा पर्ने याचियोस्थित एक ढलको कुलोमा सुदोको शव फेला परेको थियो । उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो। उनको कार कुलो नजिकै पार्किङ गरिएको अवस्थामा भेटिएको छ ।
सुदो सन् २००२ देखि यसै वर्षको जनवरीसम्म सिमोचुमा नगर सभा सदस्यका रूपमा कार्यरत थिए । उनले सन् २०२२ को मेयर निर्वाचनमा उम्मेदवारी घोषणा गरे तापनि मुटुको समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएका थिए । यसै वर्षको मार्चमा भएको निर्वाचनमा भने उनी निवर्तमान मेयरलाई २६२ मतको झिनो अन्तरले पराजित गर्दै विजयी भएका थिए ।
नगरपालिकाका अनुसार मृत्युभन्दा अघिल्लो दिन अर्थात् जुन १४ मा सुदो बिहान ९ बजे एक अग्नि नियन्त्रण अभ्यास कार्यक्रममा सहभागी भएका थिए । त्यहाँ उनले नगरबासीलाई सहयोगका लागि धन्यवाद दिँदै सुरक्षा सचेतनाबारे भाषण समेत दिएका थिए । बिहान सवा ९ बजे उनी घर फर्किएका थिए । उनलाई घरसम्म पुर्याउने चालकका अनुसार त्यसबेला सुदोको व्यवहार सधैँजस्तै सामान्य थियो ।
मेयर पद सम्हालेयता उनले बिरामी भएर कुनै पनि जिम्मेवारी छोडेका थिएनन् । यद्यपि, केही कर्मचारीका अनुसार उनलाई नयाँ कार्यभार र नगर सभासँगको समन्वयका कारण केही थकित देखिन्थ्यो । उनका एक परिचितले बताएअनुसार मेयर बनेपछि उनी उच्च रक्तचाप र स्वास्थ्य समस्याका कारण केही चिन्तित थि ए।
मेयर सुदोको आकस्मिक निधनपछि उपमेयर ताकासी वातानाबेले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेका छन् । कानुनअनुसार सहरले आगामी ५ दिनभित्र निर्वाचन आयोगलाई जानकारी गराउनुपर्नेछ र ५० दिनभित्र नयाँ मेयर चयनका लागि निर्वाचन सम्पन्न गरिनेछ ।








