टोकियो – पूर्वी जापानमा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । जापानको मौसम विज्ञान विभागका अनुसार इबाराकी प्रान्तको दक्षिणी भागलाई केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको सबैभन्दा बढी प्रभाव गुन्मा प्रान्तको दक्षिणी क्षेत्र र साइतामा प्रान्तको उत्तरी क्षेत्रमा देखिएको छ । जापानी भूकम्पीय तीव्रता मापन स्केल (० देखि ७ विन्दु) अनुसार यी क्षेत्रहरूमा ‘लोअर ५’को तीव्रता रेकर्ड गरिएको छ । ‘लोअर ५’ को तीव्रतामा मानिसहरूलाई हिँडडुल गर्न कठिन हुने र असुरक्षित रूपमा राखिएका सामानहरू खस्ने गर्दछन् ।
यद्यपि, यस भूकम्पका कारण सुनामी (सामुद्रिक छाल) को कुनै जोखिम नरहेको मौसम विभागले स्पष्ट पारेको छ । भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ ।








