काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन गर्ने भएको छ। आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले सम्भव भएसम्म सहमतिबाट र नत्र निर्वाचनमार्फत नेता छान्ने निर्णय गरेको हो। सांसद भरतबहादुर खड्काका अनुसार सोमबार बिहान ९ बजेदेखि उम्मेदवार दर्ता प्रक्रिया सुरु हुनेछ। सहमति नभए सोही दिन मतदान गरेर परिणाम सार्वजनिक गरिने तयारी छ।
बैठकले संसदीय कामकाज र कानुनी विषय अध्ययनका लागि विज्ञसहितको संसद् समन्वय बोर्ड गठन गर्ने प्रस्ताव पनि अघि बढाएको छ, जसबारे कार्यसम्पादन समितिले निर्णय गर्नेछ। यसअघि नै निर्वाचन तालिका सार्वजनिक भए पनि प्रक्रिया स्थगित गरिएको थियो। अहिले भने प्रक्रिया पुनः अघि बढाइएको छ।
दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् र दलको नेताले संवैधानिक परिषद्मा समेत प्रतिनिधित्व गर्नेछ।








