काठमाडौं – मुगुमा बढ्दो दाउरा संकट समाधानका लागि स्थानीय किसानहरूले अपनाएको ‘उत्तिस’ वृक्षारोपणको अभ्यास पछिल्लो समय निकै प्रभावकारी देखिएको छ । वर्षौँदेखि बाँझो रहेका निजी जग्गाहरूमा रोपिएका उत्तिसका बिरुवाहरू हुर्किएसँगै ग्रामीण क्षेत्रमा इन्धनको समस्या टर्न थालेको हो ।
छिटो बढ्ने र कम समयमै प्रयोगयोग्य हुने विशेषताका कारण उत्तिस अहिले यहाँका घरपरिवारका लागि दाउराको भरपर्दो स्रोत बनेको छ । विगतमा दाउरा संकलनका लागि दिनभर समय खर्चिएर टाढाका जोखिमपूर्ण भिरपाखा र जंगल धाउनुपर्ने बाध्यता यसले अन्त्य गरिदिएको छ ।
छायाँनाथ रारा नगरपालिका–५, ढुमगाउँका स्थानीय किसान लाप्से विक आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘पहिले दाउराका लागि ज्यान जोखिममा राखेर जंगल जानुपर्थ्यो, अहिले आफ्नै बारीका रूखले आवश्यकता धान्ने गरेको छ । आपत् परेका बेला एउटै रूख काट्दा पनि वर्षभरिको संकट टर्छ ।’
बारीमै दाउरा उपलब्ध हुन थालेपछि वनपाखा र भिरमा घाँस-दाउरा गर्दा हुने दुर्घटनामा समेत कमी आएको छ । यसका साथै, निजी जग्गामा गरिएको वृक्षारोपणले प्राकृतिक वन क्षेत्रमा पर्ने मानवीय चापलाई उल्लेख्य रूपमा घटाएको छ । वातावरणविद्हरूका अनुसार उत्तिसको रोपणले हरियाली विस्तार हुनुका साथै भू-क्षय रोक्न र माटोको उर्वराशक्ति संरक्षणमा समेत ठूलो मद्दत पुगेको छ ।
स्थानीय तहले पनि यस सकारात्मक अभ्यासलाई प्रोत्साहन गर्न थालेको छ । छायाँनाथ रारा नगरपालिकाले वातावरणीय सन्तुलन र आत्मनिर्भरताका लागि ‘एक मुख, दश रूख’ को नीति अघि सारेको छ । यस नीतिले स्थानीयलाई थप वृक्षारोपणका लागि उत्प्रेरित गरेको छ । यद्यपि, आवश्यकताभन्दा बढी भएको दाउरा बिक्री गरेर अतिरिक्त आम्दानी गर्नेतर्फ भने किसानहरूको ध्यान अझै पुग्न सकेको छैन ।








