टोकियो – कोरोना महामारीपछि जापानबाट विदेश भ्रमण गर्नेहरूको सङ्ख्यामा क्रमिक सुधार देखिए पनि यो अझै सन् २०१९ को तुलनामा ७० प्रतिशतको हाराहारीमा मात्रै सीमित भएको छ । ‘येन’ को लगातारको अवमूल्यन (कमजोर येन) का कारण वैदेशिक यात्रा महँगो बन्दा जापानी नागरिकहरू बाहिर जान हच्किएका हुन् ।
सन् २०२५ मा कुल १ करोड ४७ लाख ३० हजार जापानी नागरिकले विदेश भ्रमण गरेका छन् । यो सङ्ख्या सन् २०१९ को ऐतिहासिक रेकर्ड (२ करोड ८० हजार) को तुलनामा निकै कम हो । सरकारले सन् २०२५ सम्ममा २०१९ को रेकर्डलाई उछिन्ने लक्ष्य राखेको भए पनि कमजोर मुद्राका कारण त्यो पूरा हुन सकेन ।
लक्ष्य भेट्टाउन नसकेपछि जापान सरकारले अब सन् २०३० सम्ममा २०१९ को रेकर्ड तोड्ने नयाँ लक्ष्य तय गरेको छ । वैदेशिक भ्रमणलाई प्रोत्साहन दिन र नागरिकहरूमाथिको आर्थिक भार कम गर्न सरकारले आगामी जुलाई १ देखि लागू हुने गरी राहदानी (पासपोर्ट) दस्तुरमा भारी कटौती गर्ने निर्णय समेत गरिसकेको छ । अन्तर्राष्ट्रिय उडान मार्गहरू कायमै राख्नका लागि पनि एयरलाइन्सहरूलाई निश्चित सङ्ख्यामा बाहिर जाने यात्रुहरूको आवश्यकता पर्दछ ।
विगत ७६ वर्षको तथ्याङ्क हेर्दा, सन् २०१९ मा शिखरमा पुगेको वैदेशिक भ्रमण सन् २०२१ (महामारीको उच्च समय) मा ५ लाख १० हजारमा झरेको थियो । सन् २०२४ मा यो सङ्ख्या १ करोड ३० लाख पुगेको थियो भने २०२५ मा केही सुधार आएको हो ।
क्षेत्रगत रूपमा टोकियोबाट विदेश जानेहरूको सङ्ख्यामा सबैभन्दा कम (१९.५ प्रतिशत) गिरावट आएको छ । तर, उत्तर-पूर्वी जापानको फुकुसिमामा भने सबैभन्दा ठूलो गिरावट (४३ प्रतिशत) देखिएको छ, जहाँ सन् २०१९ मा १ लाख ६ हजार मानिस विदेश गएका थिए भने २०२५ मा ६० हजारमा खुम्चिएका छन् ।
तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा २० को दशकमा रहेका युवतीहरू वैदेशिक भ्रमणमा बढी सक्रिय देखिएका छन् । अर्कोतर्फ, ७० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाहरूको भ्रमण भने अन्य उमेर समूहको तुलनामा निकै कम छ ।








