टोकियो – जापानको प्रख्यात सुशी चेन ‘सुशीजान्माई’ले लिलामीमा अहिलेसम्मकै महँगो टुना माछा खरिद गरेर गिनिज वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ता गराएको छ । सन् २०२६ को पहिलो लिलामीमा ५१ करोड ३ लाख येन (करिब ३२ लाख अमेरिकी डलर) मा एउटै माछा खरिद गरेर कम्पनीले यो ऐतिहासिक कीर्तिमान कायम गरेको हो ।
२४३ किलोग्राम तौल भएको उक्त ‘ब्लुफिन टुना’ माछा उत्तर-पूर्वी जापानको आओमोरी प्रान्तस्थित ओमा तटमा समातिएको थियो । सुशीजान्माई सञ्चालक कम्पनी ‘कियोमुरा कर्पोरेसन’ ले गत जनवरी ५ का दिन टोकियोको प्रसिद्ध ‘तोयोसु’ माछा बजारमा भएको वर्षको पहिलो लिलामीमा यसलाई खरिद गरेको हो ।
खरिद गरिएको उक्त विशाल माछालाई सुशीजान्माईको सुकिजीस्थित मुख्य शाखामा काटेर जापानभरका शाखाहरूमा ग्राहकहरूलाई पस्किएको थियो ।
कम्पनीका अध्यक्ष कियोशी किमुराले अप्रिल २० मा आयोजित एक विशेष समारोहमा गिनिज प्रमाणपत्र ग्रहण गरे । प्रमाणपत्र बुझ्दै उनले भने, ‘हामी आगामी वर्षहरूमा पनि आफ्ना ग्राहकलाई उत्कृष्ट गुणस्तरको टुना माछा उपलब्ध गराउन प्रतिबद्ध रहनेछौँ ।’
कियोमुरा कर्पोरेसनका लागि यो दोस्रो गिनिज रेकर्ड हो । यसअघि सन् २०१३ मा १५ करोड ५४ लाख येनमा टुना खरिद गर्दा पनि कम्पनीले विश्व कीर्तिमान बनाएको थियो । टोकियो महानगर सरकारका अनुसार सन् १९९९ मा तथ्याङ्क राख्न सुरु गरिएयता यो वर्षको मूल्य सबैभन्दा उच्च हो ।
जापानमा नयाँ वर्षको पहिलो लिलामीमा ठूलो रकम खर्चिनुलाई शुभ मानिन्छ। यसलाई रेस्टुरेन्टहरूको प्रचारप्रसार र ‘भाग्य’ सँग जोडेर हेर्ने गरिन्छ । सन् २०२३ मा ३ करोड ६० लाख येन मात्र रहेको उच्चतम बोली २०२४ मा ११ करोड ४० लाख र २०२५ मा २७ करोड येन पुगेको थियो, जुन यो वर्ष ५१ करोड नाघेर नयाँ उचाइमा पुगेको हो ।








