काठमाडौँ – वैशाख १२ नेपालीका लागि अझै पीडादायी स्मृति बनेको छ। २०७२ सालको विनाशकारी भूकम्प गएको एक दशक बितिसक्दा पनि पुनर्निर्माण पूर्ण रूपमा सकिएको छैन। गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टरको भूकम्पमा करिब ९ हजारको ज्यान गएको थियो भने हजारौँ घाइते भएका थिए।
भूकम्पले लाखौँ निजी घर, विद्यालय, स्वास्थ्य संस्था र ऐतिहासिक सम्पदामा ठूलो क्षति पुर्याएको थियो। सरकारले पुनर्निर्माणलाई प्राथमिकता दिएको भए पनि हालसम्म करिब ८९ प्रतिशत मात्रै काम सम्पन्न भएको देखिन्छ। निजी आवास निर्माणमा अधिकांशले अनुदान पाए पनि केही लाभग्राही सम्पर्कमा नआउँदा र प्रक्रिया पूरा नगर्दा काम अधुरै छ। साथै, जग्गा व्यवस्थापन, प्रशासनिक ढिलाइ र आर्थिक अभावले पनि पुनर्निर्माण प्रभावित भएको छ।
सरकारले दिएको तीन लाख अनुदान पर्याप्त नहुँदा धेरैले घर बनाउन ढिला गरेका छन्। विशेषज्ञहरूका अनुसार स्पष्ट नीति र प्रभावकारी कार्यान्वयनको अभावले पुनर्निर्माण अझै पछाडि परेको छ।








