Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको अध्यागमन सेवा एजेन्सीले अप्रिल १ देखि ‘अन्तर-कम्पनी स्थानान्तरण’मार्फत जापान आउने विदेशी नागरिकहरूको पूर्व-आगमन जाँचमा कडाइ गरेको छ । अबदेखि एकै कम्पनीको वैदेशिक शाखाबाट जापान सरुवा भई आउने कर्मचारीहरूले आफ्नो रोजगारीको स्थिति प्रमाणित गर्न थप विस्तृत कागजातहरू अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

विदेशी नागरिकहरूले आफ्नो भिसाको श्रेणीले अनुमति दिएको भन्दा बाहिरको काममा संलग्न नहोऊन् भन्ने सुनिश्चित गर्न सरकारले यो कदम चालेको हो । अध्यागमन एजेन्सीका अनुसार, अब आवेदकले आफू विदेशमा रहँदा त्यहाँको ‘सामाजिक बीमा’मा आबद्ध भएको प्रमाण, सम्बन्धित कम्पनी दर्ताको प्रमाणपत्र र कर तिरेको आधिकारिक विवरण पेस गर्नुपर्नेछ ।

यसअघि, अधिकांश अवस्थामा रोजगारीको सामान्य प्रमाण मात्र बुझाए पुग्ने व्यवस्था थियो । तर, सरकारले पुरानो व्यवस्थाबाट कामदारको विदेशको वास्तविक रोजगारी स्थिति स्पष्ट नहुने र प्रणालीको दुरुपयोग हुन सक्ने ठहर गरेको छ ।

गत वर्षको अन्त्यसम्म जापानमा करिब १९ हजार विदेशी नागरिकहरू ‘अन्तर-कम्पनी स्थानान्तरण’ भिसामा कार्यरत छन् । जापान सरकारले पछिल्लो समय विभिन्न विधाका भिसामा कडाइ गर्दै आएको छ ।

  • बिजनेस म्यानेजर भिसा: गत अक्टोबरमा यो भिसाका लागि कम्पनीको न्यूनतम पुँजी ५० लाख येनबाट उल्लेख्य वृद्धि गरी ३ करोड येन (करिब १ लाख ९० हजार डलर) पुर्‍याइएको छ । साथै, कम्पनीमा कम्तीमा एकजना जापानी नागरिक वा स्थायी बासिन्दा पूर्णकालीन कर्मचारी हुनुपर्ने प्रावधान छ ।
  • भाषा दक्षता: इन्जिनियर, मानविकी विशेषज्ञ र अन्तर्राष्ट्रिय सेवा (जस्तै होटलको फ्रन्ट डेस्क) मा काम गर्नेहरूका लागि जापानी भाषाको दक्षता प्रमाणित गर्ने कागजात अनिवार्य गरिएको छ ।

अध्यागमन अधिकारीहरूका अनुसार, भिसा प्रणालीको दुरुपयोग रोक्न र योग्य व्यक्तिहरूलाई मात्र प्रवेश अनुमति दिनका लागि यस्तो कडाइ आवश्यक भएको हो ।

तपाईको प्रतिक्रिया