काठमाडौँ – वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चैत महिनामा उल्लेख्य रूपमा बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार फागुनको तुलनामा चैतमा झन्डै ९ हजारले वृद्धि भई कुल ६१ हजार ८१९ जनाले श्रम स्वीकृति लिएका छन्।
यसमा ५५ हजारभन्दा बढी पुरुष र करिब ६ हजार महिला छन्। नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या करिब २० हजार भए पनि ठूलो हिस्सा भने पुनः विदेश फर्किने श्रमिकको छ।
चैत महिनामा मात्रै करिब ६२ हजार नेपाली रोजगारीका लागि विदेशिएका छन्। गन्तव्यका रूपमा मलेसिया सबैभन्दा अगाडि छ भने यूएई, कतार र साउदी अरब त्यसपछि रहेका छन्। पछिल्लो समय रोमानिया, जापान र साइप्रसजस्ता देशतर्फ पनि आकर्षण बढेको देखिएको छ। सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखे पनि ठूलो सङ्ख्यामा युवा विदेशिनु चुनौतीका रूपमा देखिएको छ।
प्रकाशित मिति: बिहिबार बैशाख १०, २०८३
प्रकाशित समय: २०:४७:००








