टोकियो – जापानमा पछिल्लो समय परम्परागत हुलाक सेवाको दुरुपयोग गरी नक्कली पक्राउ पुर्जी (अरेस्ट वारेन्ट) पठाएर सर्वसाधारणलाई ठग्ने नयाँ शैलीको ‘एनालग’ ठगी धन्दा मौलाएको छ । प्रहरीका अनुसार यस वर्षको सुरुदेखि हालसम्म मध्य जापानका तीनवटा प्रान्तहरूमा कम्तीमा ४५ वटा यस्ता घटनाहरू पुष्टि भइसकेका छन् ।
सोमबारसम्म आइची प्रान्तमा ३४, गिपुमा १० र मिए प्रान्तमा एउटा यस्तो ठगीको घटना फेला परेको छ। ठगहरूले हुलाक कार्यालयमा पाइने ‘लेटर प्याक’ भनिने खामहरू प्रयोग गरी पीडितको घरमै कागजात पठाउने गरेको पाइएको छ ।
प्रहरीका अनुसार यी नक्कली पक्राउ पुर्जीहरूमा केही प्राविधिक गल्तीहरू भेटिएका छन्। कागजातमा जापानमा प्रयोग नहुने चिनियाँ लिपि (कान्जी) का अक्षरहरू प्रयोग गरिएका छन् भने खाममा लेखिएका हुलाक कोड (पोस्टल कोड) हरू समेत गलत पाइएका छन् । स्मार्टफोन र आधुनिक प्रविधिमा खासै अभ्यस्त नभएका वृद्धवृद्धाहरूलाई त्रसित पारेर रकम असुल्न अपराधीहरूले यो पुरानो ‘एनालग’ पद्धति अपनाएको प्रहरीको निष्कर्ष छ ।
ठगीको एउटा भयानक उदाहरण नागोया शहरमा देखिएको छ । त्यहाँकी ७८ वर्षीया वृद्धालाई सुरुमा प्रहरी अधिकारी बताउने एक व्यक्तिले फोन गरेर ‘तपाईंको नाममा पक्राउ पुर्जी जारी भएको छ’ भन्दै तर्साएका थिए। त्यसको केही समयपछि उनको घरमा हुलाकबाट ठ्याक्कै सक्कली जस्तै देखिने पक्राउ पुर्जी आयो ।
ठगहरूले उनलाई ‘तपाईंको बैंक खातामा भएको पैसा कुनै अपराधबाट आर्जित अवैध धन त होइन भनी जाँच गर्नुपर्छ’ भन्दै विश्वासमा पारे। डरका कारण उनले आफ्नो खाताबाट २ करोड ६० लाख येन झिकेर एउटा कागजको झोलामा राख्दै घरको लेटर बक्समुनि राखिदिइन् । पछि उक्त रकम ठगहरूले लिएर फरार भए ।
प्रहरीले हुलाकबाट आउने यस्ता शंकास्पद पत्रहरूबाट सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ । ‘प्रहरीले कहिल्यै पनि हुलाकबाट पक्राउ पुर्जी पठाएर नगद माग गर्दैन,’ अधिकारीहरूले भनेका छन्। कुनै पनि सरकारी निकायको नाममा शंकास्पद पत्र वा फोन आएमा तुरुन्तै परिवारका सदस्य वा नजिकैको प्रहरी चौकीमा सम्पर्क गर्न सुझाव दिइएको छ ।








