टोकियो – जापानको इबाराकी प्रान्तले अवैध रूपमा विदेशी कामदार राख्ने व्यवसायहरूबारे जानकारी दिने व्यक्तिलाई नगद पुरस्कार दिने घोषणा गरेको छ । टोकियोको उत्तरपूर्वी क्षेत्रमा अवस्थित यस प्रान्तले आगामी मे ११ देखि यो विवादास्पद योजना कार्यान्वयनमा ल्याउन लागेको बुधबार जानकारी दिएको हो ।
सन् २०२४ को तथ्याङ्कअनुसार जापानका ४७ प्रान्तहरूमध्ये इबाराकीमा अवैध विदेशी कामदारहरूको संख्या सबैभन्दा बढी रहेको छ । नयाँ व्यवस्थाअनुसार, कसैले गैरकानुनी रूपमा विदेशी कामदार राख्ने रोजगारदाताका बारेमा सूचना दिएमा र उक्त सूचनाका आधारमा मुद्दा दर्ता भएमा, सूचनादातालाई १० हजार जापानी येन पुरस्कार प्रदान गरिनेछ ।
प्रान्तीय सरकारका अनुसार प्राप्त सूचनालाई पहिले आधिकारिक रूपमा प्रमाणीकरण गरिनेछ र त्यसपछि मात्र सम्बन्धित रोजगारदातालाई प्रहरीकहाँ उजुरी गरिनेछ । यो व्यवस्था विशेष गरी विदेशी कामदारलाई गैरकानुनी रूपमा काममा लगाउने कम्पनीहरूमा केन्द्रित रहनेछ ।
विभेदको जोखिमलाई मध्यनजर गर्दै प्रान्तले निश्चित निर्देशिकासमेत जारी गर्ने योजना बनाएको छ । केवल व्यक्तिको हुलिया, रूप-रङ्ग वा राष्ट्रियताका आधारमा मात्र उजुरी गर्न पाइने छैन । सूचना दिन चाहने व्यक्तिले प्रान्तको आधिकारिक वेबसाइटमार्फत आफ्नो नाम, ठेगाना, फोन नम्बर र परिचय पत्रको प्रतिलिपिसहितको व्यक्तिगत विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
गत फेब्रुअरीमा पहिलो पटक यो योजना सार्वजनिक भएदेखि नै यसको व्यापक आलोचना भइरहेको छ । स्थानीय बार एसोसिएसन र विदेशी नागरिकहरूको हकहितमा सक्रिय नागरिक समूहहरूले यो प्रणालीले समाजमा विभेद, अविश्वास र विभाजन निम्त्याउने भन्दै चिन्ता व्यक्त गरेका छन्। यसले विदेशीहरूप्रति पूर्वाग्रह बढाउन सक्ने उनीहरूको तर्क छ ।








