समाचार सुन्नुहोस :
काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा दक्षिणतिर रहेको छ। यस कारण आज दिउँसो देशभर सामान्यतया आकाश बदली हुने अनुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भूभाग र तराईका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ। आज राति पनि देशभर बदली रहने र कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। त्यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहावको जोखिम बढ्ने, साना–ठूला नदीमा पानीको सतह उच्च हुन सक्ने तथा यातायात प्रभावित हुन सक्ने चेतावनी दिएको छ। साथै, सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरिएको छ।








