समाचार सुन्नुहोस :
काठमाडौँ – सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले तोकेको समयसीमा सकिए पनि फेसबुक, इन्स्टाग्राम, एक्स र गुगललगायत कुनै पनि कम्पनी सूचीकरणका लागि आएका छैनन्।
सरकारले गत भदौ १२ गते सूचना प्रकाशित गर्दै ती सञ्जाललाई एक साताभित्र अनिवार्य सूचीकरण गर्न निर्देशन दिएको थियो। साथै, तोकिएको समयभित्र सूचीकरण नभए क्रमशः बन्द गर्दै जाने चेतावनी पनि दिएको थियो। तर म्याद गएराति सकिए पनि सामाजिक सञ्जाल अझै सञ्चालनमा छन्।
फेसबुकजस्ता विश्वव्यापी रूपमा प्रयोग हुने सञ्जाल तत्काल बन्द गर्दा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने भएकाले सरकारले चेतावनीमा मात्र सीमित हुने मनस्थिति बनाएको बुझिएको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने तोकिएको समयमा सूचीकरण नभए सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी पुनः दोहोर्याएका थिए।








