समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेमै रहेर राजनीति गर्ने स्पष्ट भएकी छन्। बिहीबार काठमाडौंमा आयोजित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले आफूलाई एमालेबाट राजनीति गर्न कसैले रोक्न नसक्ने बताइन्।
उनले २०५१ सालदेखि एमाले निरन्तर सरकारमा रहेको भन्दै अब पार्टीको कामको मूल्यांकन हुनुपर्ने माग गरिन्। भण्डारीले पार्टीभित्रका विसंगति र विकृति खुलेर उठाउने बताउँदै सरकार सुशासन प्रवर्द्धन गर्न असफल भएको टिप्पणी गरिन्। उनका अनुसार, दलहरू भित्रै विकृति मौलाएको र संसद निरीह बनेको छ।
काठमाडौं थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा सम्पर्क कार्यालय स्थापना गरिएको छ। यस कार्यालयलाई ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका रूपमा घोषणा गरिएको छ। समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् भने भण्डारी समितिकी संरक्षक बनेकी छन्।
मदन भण्डारीको ७५औं जन्मजयन्तीका लागि यसअघि नै ७५ सदस्यीय समिति गठन गरिएको थियो। भाडामा लिइएको यो घरबाट नै मदन भण्डारीले २०४८ सालको चुनावी अभियान सञ्चालन गरेका थिए। त्यसै घरबाट भण्डारीको निधनपछि विद्या भण्डारीले पनि उपनिर्वाचनमा चुनावी अभियान चलाएकी थिइन्। अहिले पुनः सोही घरलाई सम्पर्क कार्यालय बनाएर उनले एमालेभित्र आफ्नो सक्रियता बढाउने संकेत दिएकी छन्।








