समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले भारत र चीन दुवैले नेपालको भूमिमा नजर लगाएको खण्डमा नेपालले स्पष्ट रूपमा प्रतिवाद गर्ने सन्देश दिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले भने, “यो विषयलाई घरेलु राजनीति वा उग्र राष्ट्रवादको रूपमा प्रयोग गर्नु हुँदैन। भारत र चीन दुवैलाई सबै नेपाली दलले एउटै सन्देश दिनुपर्छ– हाम्रो भूमिमाथि आँखा लगाउनु कसैलाई पनि स्वीकार्य छैन। नेपालले यसको प्रतिवाद गर्छ।”
थापाले यस मुद्दामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए। “मतभेद र प्रतिस्पर्धा आफ्नो ठाउँमा छन् तर राष्ट्रिय हितमा सबै दल एकै ठाउँमा उभिनुपर्छ,” उनले भने।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत भइरहेको चीन–भारतबीचको व्यापार सम्झौताबारे थापाले यसलाई आन्तरिक राजनीति बनाउनु गलत हुने बताए।








