समाचार सुन्नुहोस :
काठमाडौँ – कञ्चनपुरका विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा राखेको भन्दै युवाहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी युवाहरूले विपिनको तत्काल रिहाइ, सरकारले कूटनीतिक दबाब सिर्जना गर्नुपर्ने, नागरिकलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने र विदेशिएका सबै नेपालीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन्।
उनीहरूले “कहाँ छन् विपिन जोशी ? अविलम्ब घर फर्काइयोस्”, “हामी युवाहरू कहिलेसम्म विदेशिनु पर्ने हो सरकार ?”, “युवा बेचेर देश कसरी बन्छ सरकार ?” भन्ने प्लेकार्ड बोकेका थिए। स्वतस्फूर्त रूपमा भेला भएका युवाहरूले विपिनको रिहाइका लागि हस्ताक्षर संकलनसमेत गरेका छन्। यसअघि सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम कूटनीतिक पहल गरिरहेको बताएकी थिइन्।
त्यसैगरी, विपिनकी आमा र बहिनी अहिले इजरायलमा छन्। उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनको छिट्टै रिहाइका लागि अपिल गरेका छन्।








