बारा – काठमाडौंलाई छोटो समयमै तराई–मधेससँग जोड्ने परियोजनाका रूपमा लिइएको काठमाडौं–तराई मधेस द्रुतमार्गमा ९० वटा पुल र तीन वटा टनेल (सुरुङ) बन्ने भएको छ ।
दु्रतमार्ग बनाइरहेको नेपाली सेनाले पहिलेको प्रस्तावमा पुनर्विचार गर्दै केही स्थानमा सुरुङ बनाउने गरी पछिल्लो प्रस्ताव गरेपछि पुलको संख्या घट्ने भएको हो । पहिले द्रुतमार्गमा ९९ वटा पुल प्रस्तावित थियो भने अब नौ वटा घटेर ९० वटा प्रस्ताव भएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले पहिले प्रस्ताव गरिएभन्दा केही स्थानमा थप सुरुङको प्रस्ताव भएपछि पुलको संख्या घट्न सक्ने जनाउनुभयाे । ‘पहिले ९९ वटा पुल प्रस्तावित थियो तर केही स्थानमा टनेल थप हुने भएपछि पुलको संख्या घट्ने भएको हो ।
संख्या भने यकिन भएको छैन,’ सहायक रथी भण्डारीले भन्नुभयाे । पछिल्लो प्रस्तावमा १ दशमलव ४ किलोमिटरको सुरुङ लेनडाँडामा प्रस्तावित छ भने अर्को सुरुङ ३ दशमलव ३ किलोमिटरको महादेवटारमा प्रस्ताव गरिएको छ । यसअघि १ दशमलव ३७ किलोमिटर सुरुङ ठिंगन क्षेत्रमा प्रस्तावित थियो ।
स्रोतका अनुसार पहिले प्रस्तावित भएको बाहेक अन्य दुई स्थानमा सुरुङ थप हुने भएपछि पहिले प्रस्ताव भएभन्दा नौ वटा पुलको संख्या घट्ने भएकोे हो । पहिलेको प्रस्तावमा ६२ ठूला पुल र अन्य साना पुल प्रस्तावित थियो ।
पुलका लागि मात्रै ६ विभिन्न निर्माण कम्पनी सूचीकृत भइसकेका छन् । प्रस्तावित ७६ दशमलव २ किलोमिटर लामो सो सडकलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्र्याक्टरमार्फत काम गरिरहेको सेनाले जनाएको छ ।
यस्तै, दक्षिण कोरियाली कम्पनी सुसुङले द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २० माघभित्र दिने गरी तयार गरिरहेको छ । डीपीआरको लागत १० करोड १२ लाख ७८ हजार ९३२ रुपैयाँ तोकिएको छ ।
सेनाले द्रुतमार्ग निर्माणका लागि विभिन्न ९ स्थानमा क्याम्प राखेर काम गरिरहेको छ भने खोकना क्षेत्रमा समेत थप क्याम्प राख्ने तयारी गरेको छ । बाराको निजगढ जिरो किलो क्षेत्रको सडक निर्माणका लागि जिम्मेवारी सम्हालिरहेका सेनाका प्राविधिक सेनानी रमेश मरासिनीले तराईको सडकमा २७ मिटर र पहाडी क्षेत्रमा २५ मिटर सडकको चौडाइ प्रस्ताव भएको र सोहीअनुसार काम अघि बढिरहेको जानकारी दिनुभयाे ।








