काठमाडाैं – ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयले विद्युत चोरी नियन्त्रणका लागि अभियान चलाउने भएको छ । विद्युत चोरीको गुनासो आइरहेको भन्दै ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले गृह मन्त्रालयसंगको सहकार्यमा विद्युत चोरी नियन्त्रण अभियान तत्काल कार्यान्वयनमा लैजाने बताउनुभएको हो ।
गृह मन्त्रालयमा ऊर्जा मन्त्री पुन, गृहमन्त्री रामबहादुर थापा, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंङ, ऊर्जा सचिव लगतयतबीच संयुक्त अभियान सञ्चालनका लागि सहमति भएको हो । चोरी नियन्त्रणका लागि प्रत्येक जिल्ला प्रशासन कार्यालय र विद्युत प्राधिकरणको शाखा कार्यालयसंगको समन्वयमा संयुक्त रुपमा कार्य योजना तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको ऊर्जा मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिनुभयो ।
सडक निर्माणका सन्दर्भमा विद्युतको पोलहरु समस्याका रुपमा रहेकाले अन्तर निकायगत समन्वय गरी अत्यावश्यक स्थानका बिजुलीका पोलहरु सार्ने, ऊर्जा मन्त्रालय अन्र्तगत सञ्चालनमा रहेका आयोजनाको निर्माण कार्यमा लापरबाही भए तथा समयमै गुणस्तरिय कार्य सम्पन्न नगरेमा कारबाही गर्ने निर्णय भएको खड्काले जानकारी दिनुभयो ।








