टोकियो – अर्को साता सिंगापुरमा हुन गईरहेको अमेरिका र उत्तर कोरियाबीचको बहुप्रतिक्षित शीर्षवार्तालाई ध्यानमा राख्दै त्यहाँको सुरक्षा ब्यवस्थालाई तिब्र पारिएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन बीच आउँदो साताको मंगलबार सिंगापुरको सेन्तोसा टापुस्थित होटल कापेल्लामा शिखर वार्ता हुने भएको छ ।
वार्तास्थल रहेको प्रायद्विपमा आवागमन गर्ने सवारी साधनको सुरक्षा जाँचमा अहिलेदेखि नै कडा पारिएको छ भने सीमित सवारी साधनहरुलाई मात्र प्रवेशमा पहुँच दिईएको छ । सिंगापुर सरकारले सेन्तोसा आइल्याण्ड र वार्ता स्थलदेखि वरपर रहेका सहरका केही निर्धारित क्षेत्रहरुमा बिशेष सुरक्षाको ब्यवस्था गरेको जनाएको छ ।
एनएचके वर्ल्डका अनुसार सुरक्षाका दृष्टिले उक्त शिखरवार्तालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले आगामी साताको सोमबारदेखि बुधबारसम्मका लागि सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने विमानहरुको संख्यामा कमी ल्याईने जनाएको छ ।***








