Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – पुराना, लोकप्रियका साथै कतिपय स्वर्गीय गायक÷स्रष्टाको स्वरमा रेकर्ड भएका लोकभाकाका बोल, शब्द, लय र धुन चोरी गरेर गाउने क्रम बढेको छ । पुराना स्रष्टाका गीतलाई अनुमति नै नलिई तोडमोड गरेर आफ्नो नाम दिएर दाम कमाउने धन्दामा कतिपय युवा गायक/गायिका तथा सङ्गीतकार लागिरहेको आरोप समेत लागेको छ ।

अर्काको सिर्जना बिगारी थपघट गरी अनुमति विना आफ्नै जसरी प्रचारप्रसार गर्ने काम गर्न नपाइने व्यवस्था प्रतिलिपी अधिकार ऐन, २०५९ मा गरिएको छ । एउटा लोकभाकालाई दोहोरो रूपमा समेत चोरी गरिएको पाइएको छ । कुरो यतिमा मात्र सीमित छैन, आफूले एउटाको गीत चोरी गरेर गाएका गायकले पुरानै बोलको गीत अर्को गायकले गाउँदा आफ्नो भन्दै दावीसमेत परेको छ ।

महेन्द्र तिमल्सिनाको सङ्कलन रहेको गायक हरेराम कार्की र कल्याणकुमार कार्कीको स्वरमा ३० वर्षअघि रेडियो नेपालमा “कल्पना बल्ल बाँच्यौ ” बोलको गीत रेकर्ड भएको थियो । अहिलेसम्म यसको बोल दुईपटक चोरी भइसकेको छ ।

भर्खरै फास्ट फास्ट कल्पना (कल्पना सानो सानो लसुनको पोटी) भन्ने बोलको गीत शंकर थापा स्माइल/सुमी चाम्लिङ राईको स्वरमा रेकर्ड भयो भने यसको गीतकारमा डिपी खनालको नाम राखियो ।

युट्युबमा यो गीतले केही दिनमै झण्डै १७ लाख दर्शक पायो । गायक रेशम थापाले उक्त गीत आफ्नो भएको दाबी गर्नुभयो । उहाँ मात्रै होइन यो गीत आफ्नो भएको भन्दै पुराना स्रष्टा हरेराम कार्की समेत सिन्धुपाल्चोकबाट उजुरी दिन नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय हुँदै हनुमान ढोका पुग्नभएको छ ।

उक्त लोक भाकालाई १३ वर्ष अघि सरीता/निरकमल भन्ने बोलमा रेशम थापाको लय/सङ्कलन र रेशम थापा, ध्रुव कार्की र गीतादेवीले स्वर दिनुभएको थियो । त्यो पनि ३० वर्ष अघि गीत गाउनु भएका हरेराम कार्कीको अनुमति विना नै । फास्ट फास्ट कल्पना (कल्पना सानो सानो लसुनको पोटी) भन्ने बोलको गीतका गायक शंकर थापाले पुरानो स्रष्टाका बारेमा जानकारी भएपछि आफूले उहाँको नाम उल्लेख गरेको बताउनुभयो ।

२०४१ सालमा मीरा घिमिरेको सङ्कलन रहेको टंक केसी/बुद्धिकृष्ण लामिछाने/ कल्याणकुमार कार्कीको स्वरमा रहेको तिमी हामी सुन्तली बोलको लोक भाका पनि दुई पटक चोरी भइसकेको छ । सालको पात हे माया(घर त ठिमी) भन्ने बोलमा सरोज लामिछानेको लय÷सङ्कल र सरोज लामिछाने र स्मृती गौतमको स्वरमा सालको पात टपरी दुनो भनेर पुरानो गीतको शब्द र लय मिसाएर गीत बजारमा आएको थियो ।

यो गीतमा पनि पुराना स्रष्टाको नामसमेत उल्लेख नगरी बजारमा आएपछि प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार उजुरी दर्ता भएको छ ।
केसीका दुई गीत स्याउली उड्यो चैतको हावाले (२०४१) र लै लै माया (२०४८) रेडियो नेपालमा रेकर्ड भएका थिए ।

यी गीत पनि चोरी भइसकेका छन् । भरिया म बिसाए भारी (२०४८) बोलको गीत प्रकाश बस्नेतको स्वरमा र तुलसी क्षेत्रीको सङ्कलनमा १३ वर्ष अघि गाइए पनि त्यसमा सर्जक केसीको अनुमति लिइएको छैन । अर्को लै लै माया बोलको गीत कमल खत्री र सिन्धु मल्लको स्वर र कमल खत्रीको सङ्लनमा छ ।

अर्का गायक शिवनारायण जोशीले आफ्ना पाँचवटा गीत चोरी भइसकेको चर्चा गर्दै भन्नुभयो–“म र स्वर्गीय गायिका भगवती दङ्गालको रेडियो नेपालमा रेकर्ड भएको निकै चलेको लोकभाका बारै बारौं निगालो छड्केलाई, दिदी लाने भिनाजू पड्केलाई भन्ने गीतसमेत चोरी भयो ।”

पछिल्लो समय चलेका नेपाली गीतका युट्युवमा दुई÷चार करोडसम्म भ्युज हुन थालेका छन् । युट्युबले गर्दा स्वदेशमा मात्र नभएर विदेशमा पनि नेपाली गीत÷सङ्गीत हेर्न सहज भएको छ, गीत धेरैले हेर्नेमा मात्र सीमित नभएर दर्शकको सङ्ख्यासँगै आम्दानीको स्रोत समेत बनेको छ । यही आम्दानीले पुराना स्रष्टालाई पनि केही हदसम्म जगाए पनि उजुरी गर्ने क्रम बढेको छ ।

तपाईको प्रतिक्रिया