टोकियो – फुटबलको महाशक्ति ब्राजिललाई स्तब्ध पार्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्यु जर्सी स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा एर्लिङ हालान्डको दुई निर्णायक गोलको मद्दतले नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गरेको हो ।
यो जितसँगै नर्वेले आफ्नो फुटबल इतिहासमा पहिलो पटक विश्वकपको अन्तिम आठमा स्थान पक्का गरेर नयाँ इतिहास रचेको छ । अर्कोतर्फ, उपाधि दाबेदार मानिएको ब्राजिल भने ३६ वर्षपछि पहिलो पटक अन्तिम १६ को चरणबाटै घर फर्कन बाध्य भएको छ । यसअघि सन् १९९० मा ब्राजिल यो चरणबाट बाहिरिएको थियो ।
निर्धारित समयको अन्त्यतिर हालान्डले ११ मिनेटको अन्तरालमा दुई गोल गर्दै खेल नर्वेको पक्षमा पारेका थिए । खेलको ७९औँ मिनेटमा आन्द्रेस सेलड्रुपको पासलाई सदुपयोग गर्दै हालान्डले टोलीलाई सुरुवाती अग्रता दिलाए । लगत्तै ९०औँ मिनेटमा उनै सेलड्रुपको क्रसमा उत्कृष्ट हेड गोल गर्दै हालान्डले नर्वेको अग्रता दोब्बर बनाए ।
ब्राजिलका लागि इन्जुरी समयको नवौँ मिनेटमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन । खेलको सुरुवातमै अग्रता लिने अवसर पाएको ब्राजिलका लागि ब्रुनो गुमाइरेजले १४औँ मिनेटमा पेनाल्टी सदुपयोग गर्न सकेनन् । उनको प्रहारलाई नर्वेली गोलकिपर ओर्यान नाएल्यन्डले विफल तुल्याइदिएका थिए । सन् १९८६ मा जिकोपछि विश्वकपमा पेनाल्टी मिस गर्ने ब्रुनो पहिलो ब्राजिली खेलाडी बनेका छन् ।
मैदानमा ६५ प्रतिशत बल पोजेसन राख्दै नर्वेले सुरुदेखि नै ब्राजिलमाथि दबाब कायम राखेको थियो । ५९औँ मिनेटमा ब्राजिलका युवा स्टार एन्ड्रिकले गोल गर्ने सुनौलो अवसर गुमाउनु पनि ब्राजिलका लागि महँगो सावित भयो ।
यो जितसँगै ब्राजिलविरुद्धको अपराजित यात्रालाई नर्वेले पाँचौँ खेलसम्म निरन्तरता दिएको छ । सन् १९९८ को विश्वकपमा पनि नर्वेले ब्राजिललाई २-१ कै नतिजामा हराएको थियो । अब ऐतिहासिक क्वाटरफाइनल यात्रा तय गरेको नर्वेले मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।








