Deneme Bonusu Veren Siteler
सोमवार, असार २२, २०८३
Monday, July 6, 2026

जेठ १७ गते । संसद् भवनको माहोल अलि भिन्न थियो -कालै दौरा-सुरुवाल, कालै कोट र चस्मामा सजिएका ३६ वर्षीय प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ रोस्ट्रममा उभिँदा हलमा सन्नाटा छाएको थियो । परम्परागत राजनीतिको ‘इलिट’ वृत्तलाई चुनौती दिँदै आएका बालेनले आफ्नो सम्बोधनमा एउटा गम्भीर सुइरो रोपे- ‘३५ वर्षमा नभएको काम ३५ मिनेटमा खोजेर हुँदैन । थिति बसाल्न समय लाग्छ ।’

यो केवल एउटा भनाइ मात्र थिएन, बरु पुरानो पुस्ताका दलहरूले तीन दशकसम्म देशलाई ‘बेथिति र भ्रष्टाचारको दलदल’मा जाकेको आरोपसहित सत्ताको चाबी हातमा लिएका एक युवाको आत्मविश्वास थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो समर्थनमा सरकारको नेतृत्व सम्हालेको १०० दिन पुग्दा बालेन शाहको यो ‘हनिमुन पिरियड’ नेपाली राजनीतिका लागि एउटा ठूलो प्रयोगशाला बनेको छ ।

बालेन सरकारको पहिलो र सबैभन्दा साहसिक काम मन्त्रालयको संख्या कटौती थियो । ‘साना मन्त्रालय, छिटो सेवा’ भन्ने नारालाई मूर्त रूप दिँदै उनले ३० दिनभित्रै २२ वटा मन्त्रालयलाई घटाएर १७ मा झारे । भागबन्डा मिलाउन मन्त्रालय टुक्र्याउने पुरानो रोगको यो ओखती थियो । योसँगै दलीय ट्रेड युनियनको खारेजीले सार्वजनिक प्रशासनमा वर्षौंदेखिको ‘राजनीतिक क्यान्सर’लाई फाल्ने जमर्को गरेको छ ।

कर्मचारीहरू अब दलको झन्डा बोकेर होइन, नागरिकको फाइल बोकेर कार्यकक्षमा भेटिनुपर्ने बाध्यात्मक थिति बसाल्ने प्रयास गरिएको छ । यद्यपि, प्रशासनिक सुधारका नाममा गरिएका १६ सयभन्दा बढी राजनीतिक नियुक्तिहरूको खारेजी र नयाँ नियुक्तिको शैलीले भने प्रश्न उब्जाएको छ । ‘पुरानालाई हटाएर आफ्नालाई भित्र्याउने’ खेल त भइरहेको छैन? यो संशय अझै मेटिएको छैन ।

बालेन सरकारको १०० दिन सबैभन्दा बढी चर्चामा रह्यो- भ्रष्टाचारविरोधी सक्रियताका कारण । २०४६ यताका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा गठित आयोगले सिंहदरबारदेखि बालुवाटारसम्म कम्पन पैदा गरेको छ ।तर, सबैभन्दा विवादास्पद र साहसिक मोड तब आयो, जब पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरियो । यो कदमले देश दुई भागमा बाँडियो । एकथरीले यसलाई ‘विधिको शासन’ भनेर स्वागत गरे भने अर्काथरीले यसलाई ‘राजनीतिक प्रतिशोधको पराकाष्ठा’ र ‘नयाँ अधिनायकवादको उदय’ को संज्ञा दिए । १३ दिनपछि उनीहरू रिहा भए । यसलाई सरकारको हतारो मानिएको छ ।

पछिल्लो समय सम्पत्ति शुद्धीकरणको कसुरमा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पक्राउ गरिएको छ । थुनामा राखेर उनीमाथि अनुसन्धान भइरहेको छ । यो बीचमा उद्योगी, व्यवसायी तथा इतर पक्षका राजनीतिक दलका नेताहरूमाथि धरपकड भइरहेको भन्दै उद्योगी-व्यवसायी आतंकित छन् । के यो साँच्चै शुद्धीकरण हो या विपक्षी सिध्याउने अस्त्र ? यसको जवाफ भविष्यको गर्भमै छ ।

राजनीतिबाट निकै टाढा राखिनुपर्ने शिक्षा क्षेत्रमा यसपटक केही सुखद परिवर्तन देखिएका छन् । विश्वविद्यालयहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने र ‘स्टुडेन्ट काउन्सिल’को अवधारणा ल्याउनुलाई प्राज्ञिक क्षेत्रले ‘ऐतिहासिक’ मानेको छ । एसईई र कक्षा १२ को नतिजा समयमै आउनु र १८ वटा अस्पतालमा जलन उपचार वार्ड स्थापना हुनुले सरकारको ध्यान भुइँतहका मानिसको समस्यामा छ भन्ने देखिन्छ । महिलाका लागि ल्याइएको ‘ब्लु बस’को अवधारणाले सार्वजनिक यातायातमा सुरक्षा र सम्मानको नयाँ बहस सुरु गरेको छ ।

बालेनको कार्यशैलीको एउटा पाटो ‘डोजर’ पनि हो । काठमाडौंका नदी किनाराका सुकुम्बासी बस्तीमा चलाइएको डोजरले सरकारको कठोर अनुहार देखाएको छ । ‘जग्गा त फिर्ता भयो, तर मान्छे कहाँ गए ?’ भन्ने प्रश्नको उत्तर सरकारसँग छैन । पुनस्र्थापनाको ठोस योजनाबिना नै नागरिकलाई होल्डिङ सेन्टरमा हुल्नुले सरकार ‘कठोर’ त भयो तर ‘अभिभावक’ बन्न सकेन कि भन्ने आलोचना बढाएको छ ।

लोकतन्त्रमा संसद् सबैभन्दा शक्तिशाली हुन्छ । तर, प्रधानमन्त्री बालेन शाह संसद्प्रति अनुत्तरदायी देखिएको आरोप छ । संसद्मा उठ्ने प्रश्नको जवाफ दिनुभन्दा सामाजिक सञ्जाल र सभाहरूमा गर्जिनुलाई उनले प्राथमिकता दिएका छन् । दुईतिहाइ नजिकको समर्थन हुँदाहुँदै पनि संसद् छलेर एकैपटक ८ वटा अध्यादेश जारी गर्नुले ‘लोकतान्त्रिक विधि’ भन्दा ‘हुकुमी शासन’तर्फको झुकावलाई संकेत गर्दछ ।विशेषगरी, संसद्मा प्रश्नोत्तरका क्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने उनको विवादित अभिव्यक्तिले उनको कूटनीतिक अपरिपक्वता मात्र होइन, मुलुकको स्वाधीनतामाथि नै आँच पुर्‍याएको भन्दै गम्भीर आलोचना भएको छ ।

सरकारले सुशासनको कुरा गरिरहँदा अर्थतन्त्रका सूचकहरू भने उत्साहजनक छैनन् । महँगी नियन्त्रण बाहिर छ, किसानले मल पाएका छैनन् र शिक्षा-स्वास्थ्यमा लगाइएको थप करले सर्वसाधारणको ढाड सेकेको छ । रास्वपाका अर्थमन्त्री स्वर्णिम वाग्लेले विगतमा विदेशी ऋणको चर्को विरोध गरे पनि आफ्नै बजेटमा ऋणको आवश्यकता औंल्याउनुले उनीहरूको ‘सिद्धान्त र व्यवहार’ बीचको खाडल स्पष्ट पारेको छ ।

बालेन शाहको १०० दिनका दुईवटा पाटा छन् । एउटा पाटोले भन्छ- ‘देशमा केही गर्न सकिन्छ, युवाले आँट गरे थिति बस्छ ।’ अर्को पाटोले सचेत गराउँछ- ‘विधि मिचेर गरिने सुधार दिगो हुँदैन र प्रतिशोधको राजनीतिले लोकतन्त्रलाई कमजोर बनाउँछ ।’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले यसलाई ‘निराशाजनक’ भन्नु र कांग्रेस महामन्त्री प्रदीप पौडेलले ‘जनतामाथिको धोका’ भन्नुमा राजनीतिक स्वार्थ होला, तर उनीहरूले उठाएका केही प्रश्नहरू (संविधानको बर्खिलाप र संसद्को उपेक्षा) मननयोग्य छन् ।

बालेन सरकारको ‘हनिमुन पिरियड’ सकिएको छ । अबको यात्रा केवल ‘हाइ-प्रोफाइल’ स्टन्टमा मात्र सीमित हुनेछ कि आम किसानको मल, विद्यार्थीको पुस्तक र नागरिकको भान्छाको महँगी घटाउनेतर्फ केन्द्रित हुनेछ ? आगामी दिनले नै प्रमाणित गर्नेछन्- बालेन शाह नेपाली राजनीतिको ‘गेम चेन्जर’ हुन् वा केवल एउटा ‘पपुलिस्ट’ लहर…!

तपाईको प्रतिक्रिया