Deneme Bonusu Veren Siteler
बिहिबार, असार ११, २०८३
Thursday, June 25, 2026

टोकियो – जापानमा परम्परागत स्वास्थ्य बीमा कार्ड पूर्ण रूपमा विस्थापित हुन अब करिब एक महिना मात्र बाँकी छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयकाअनुसार जुलाई अन्त्यदेखि पुरानो बीमा कार्डले काम नगर्न भएको हो ।

मन्त्रालयले ‘माई नम्बर बीमा कार्ड’ (माई ना होकेनशो) को प्रयोग दर ६८ प्रतिशत पुगेको जानकारी दिँदै नागरिकहरूलाई चाँडोभन्दा चाँडो कार्ड परिवर्तन गर्न आग्रह गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार अप्रिल महिनामा ६८.१५ प्रतिशत बिरामीले अस्पताल वा औषधि पसलहरूमा माई नम्बर बीमा कार्ड प्रयोग गरेका छन् ।

गत वर्षको डिसेम्बरदेखि सरकारले पुरानो बीमा कार्ड खारेजीको प्रक्रिया सुरु गरे पनि यसको प्रयोग दर ६० प्रतिशतको हाराहारीमा पुगेर स्थिर  भएको थियो । पछिल्लो महिनामा यसमा केही सुधार देखिएको छ ।

हाल मन्त्रालयले पुरानो स्वास्थ्य बीमा कार्ड लिएर आउने बिरामीहरूलाई पनि स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराउने एउटा ‘अस्थायी प्रावधान’  लागू गरिरहेको छ । तर, यो सहुलियतपूर्ण व्यवस्था आगामी जुलाई महिनाको अन्त्य (साउनको मध्य) मा समाप्त हुनेछ ।

जुलाई अन्त्यको समयसीमा नजिकिँदै गर्दा सरकारले नागरिकहरूलाई दुईवटा विकल्पमध्ये एक रोज्न आग्रह गरेको छ:-

  • स्वास्थ्य बीमा कार्डलाई आफ्नो ‘माई नम्बर कार्ड’ सँग एकीकृत गरी त्यसैको प्रयोग गर्ने ।
  • यदि माई नम्बर कार्ड नभएमा वा प्रयोग गर्न नचाहेमा ‘योग्यता पुष्टि पत्र’ साथमा बोक्ने ।

मन्त्रालयले अन्तिम समयमा हुने भीड र अन्योलबाट बच्न समयमै आवश्यक प्रक्रिया पूरा गर्न सर्वसाधारणलाई सूचित गरेको छ ।

तपाईको प्रतिक्रिया