काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत भएका पछिल्ला खेलहरूमा क्यानडा र स्विट्जरल्यान्डले फराकिलो जित दर्ता गरेका छन् भने चेक रिपब्लिक र दक्षिण अफ्रिकाले अंक बाँडेका छन् ।
समूह ‘बी’ को एकपक्षीय खेलमा क्यानडाले कतारमाथि ६–० को विशाल जित निकाल्यो । क्यानडाको जितमा स्टार स्ट्राइकर जोनाथन डेभिडले सानदार ह्याट्रिक पूरा गरे । सुरुदेखि नै दबाब बनाएको क्यानडाले पहिलो हाफमा तीन र दोस्रो हाफमा थप तीन गोल गर्दै कतारको रक्षापंक्तिलाई पूर्णतः ध्वस्त पारिदियो ।
सोही समूहको अर्को खेलमा स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै समूहको शीर्ष स्थान ओगट्न सफल भएको छ । स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दुई तथा रुबेन वर्गास र कप्तान ग्रानिट जाकाले एक–एक गोल गरे । ८० औं मिनेटमा तारिक मुहारेमोभिकले रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीमा समेटिएको बोस्नियाविरुद्ध स्विट्जरल्यान्डले अन्तिम समयमा लगातार गोल गरेको थियो । यो जितसँगै स्विट्जरल्यान्डको दुई खेलबाट ४ अंक पुगेको छ ।
यता समूह ‘ए’ को प्रतिस्पर्धामा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले १–१ गोलको बराबरी खेलेका छन् । खेलको छैटौं मिनेटमै मिचल सादिलेकको गोलबाट अग्रता लिएको चेक रिपब्लिकले खेलको अन्त्यतिर अग्रता जोगाउन सकेन । ८३ औं मिनेटमा पाएको पेनाल्टीलाई दक्षिण अफ्रिकाका तेबोहो मोकोनाले गोलमा परिणत गरेपछि खेल बराबरीमा टुङ्गिएको हो ।








