Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानमा पछिल्लो समय सार्वजनिक यातायात क्षेत्रमा जनशक्तिको तीव्र अभाव देखिएपछि बस कम्पनीहरूले विदेशी चालकहरूलाई आकर्षित गर्न थालेका छन् । सवारी चालकहरूको अभावका कारण धेरै स्थानमा बस सेवा कटौती भइरहेका बेला जापानी बस कम्पनीहरूले यो संकट टार्न विदेशी नागरिकलाई तालिम दिएर सडकमा उतार्न थालेका हुन् ।

यसको एउटा सफल उदाहरण बनेकी छिन्, इन्डोनेसियाकी २७ वर्षीया युवती महात्मी रिस्मार्तन्ती । बाल्यकालदेखि नै ठूला सवारी साधन चलाउने रुचि भएकी महात्मी गत सेप्टेम्बरमा जापान पुगेकी थिइन् । करिब ६ महिनाको अथक प्रयास, कडा प्रशिक्षण र जापानी भाषाको अध्ययनपछि उनले जापानमा बस चलाउने अनुमति (लाइसेन्स) प्राप्त गरिन् ।

गत मार्च महिनादेखि उनले टोकियो नजिकैको कावासाकी सहरमा स्वतन्त्र रूपमा बस चलाउन सुरु गरेकी छिन् । महात्मी भन्छिन्, ‘यो मेरो लागि ठूलो अवसर हो । म यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याउन र उनीहरूको मुहारमा मुस्कान देख्न चाहन्छु ।’

विदेशी चालकहरूका लागि जापानी सडकमा बस गुडाउनु प्राविधिक रूपमा मात्र नभई भाषाई रूपमा पनि ठूलो चुनौती हो । जापानी भाषा र विशिष्ट ट्राफिक नियमहरू सिकाउन विदेशी चालकहरूलाई स्थानीयको तुलनामा दोब्बर समय तालिम दिने गरिएको छ । महात्मीले पनि आफ्नो ड्युटीपछि घरमा घन्टौंसम्म जापानी भाषामा रहेका ड्राइभिङ म्यानुअल र यात्रुलाई गरिने सम्बोधनहरू अभ्यास गर्ने गरेकी थिइन् ।

जापानका बस कम्पनीहरूका अनुसार हाल कार्यरत करिब ६० प्रतिशत चालकहरू ५० वर्षभन्दा माथिका छन् । ती चालकहरू अवकाश हुने क्रम बढ्दो छ, तर नयाँ पुस्ता यस पेशामा आकर्षित हुन सकेको छैन । विशेषज्ञहरूका अनुसार आगामी केही वर्षभित्र जापानमा करिब ३० हजार बस चालकको अभाव हुने प्रक्षेपण गरिएको छ ।

यही अभावलाई मध्यनजर गर्दै टोक्यु बस जस्ता ठूला कम्पनीहरूले ‘स्पेसिफाइड स्किल्ड वर्कर’ भिसा अन्तर्गत विदेशी चालकहरू भर्ना गर्न थालेका छन् । कम्पनीहरूले चालकहरूलाई आकर्षित गर्न २ लाख येनसम्मको भर्ना बोनस र अन्य आकर्षक सुविधाहरूको घोषणा समेत गरेका छन् ।

जापानको यातायात प्रणालीको मेरुदण्ड मानिने बस सेवालाई बचाउन विदेशी जनशक्ति अनिवार्य भइसकेको विज्ञहरू बताउँछन् । विज्ञहरूले विदेशी चालकहरूको तालिम र भाषा शिक्षणमा हुने उच्च खर्चलाई कम गर्न सरकारले कम्पनीहरूलाई आर्थिक अनुदान दिनुपर्ने सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया